दुष्यन्त चौधरी
कलैया, २० कार्तिक। “थारू संस्कृति बचाउ, आ अपन पहिचान बनाउ” भन्ने मूल नाराका साथ बाराको सदरमुकाम कलैयामा थारू समाजले यस वर्षको समा चकेवा पर्व भव्य रूपमा मनाइरहेको छ । मौलिक पहिचान, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा परिचित यो पर्व थारू समुदायको प्रमुख सांस्कृति चाडका रूपमा स्थापित हुँदै गएको छ।
नगर परिक्रमा र सांस्कृतिक झाँकी
बिहीबार दिउँसो कलैयाका थारू महिलाहरूले सामा चकेवालाई साजसज्जासहित नगर परिक्रमा गराएका थिए । पारम्परिक पोशाक , गीत र नृत्यसँगै सिंगारिएका माटाका सामा, सतभैया, चुगीला, चराचुरुङ्गी, वृन्दावन जस्ता मूर्तिहरूले कलैयाको वातावरणलाई सांस्कृतिक उत्सवमा परिणत पारे । सहभागी महिलाहरूले “थारू संस्कृति बचाउ, आ अपन पहिचान बनाउ ” भन्ने नारा लगाउँदै थारू समुदायको पहिचान जोगाउने सन्देश दिएका थिए ।
दही–चिउरा र आज खिर खुवाउने परम्परा
नगर परिक्रमापछि बिहीबार राति सामा चकेवालाई दही–चिउरा खुवाइने चलनअनुसार कार्यक्रम सम्पन्न गरिएको छ । आज शुक्रबार भने सामा चकेवालाई खिर खुवाइने जानकारी समा चकवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले दिनुभयो । उहाँका अनुसार, “यो पर्व केवल धार्मिक विधि होइन, दिदी–बहिनी र दाजुभाइबीचको माया, स्नेह र आपसी एकताको प्रतीक हो । ”
छठअघि मनाइने मौलिक पर्व
थारू समुदायमा छठ पर्व मनाउनु अघि गोधन सराप्ने र समा चकेवा खेल्ने चलन रहँदै आएको छ । भाई टिकाको दिनदेखि सुरु हुने यो पर्वमा कलैयाकी महिलाहरूले माटोबाट विविध प्रकारका मूर्तिहरू बनाएर थारू सेवा सदन परिसरमा खेल्ने गर्छन् । यसले ग्रामीण जीवन, प्रकृति, धर्म र पारिवारिक सम्बन्धको गहिरो सम्बन्ध झल्काउँछ ।
शनिबार सामा बिसर्जन
थारू अगुवा लक्ष्मीप्रसाद चौधरीका अनुसार, शनिबार बिहान सामा चकेवालाई नजिकैको खोलामा विधिपूर्वक बिसर्जन गरिनेछ । बिसर्जनका बेला महिलाहरू गीत गाउँदै, नाच्दै र भगवान श्रीकृष्णको जयघोष गर्दै सामा चकेवालाई पानीमा समर्पण गर्ने गर्छन् ।
पौराणिक कथा र धार्मिक विश्वास
समा चकेवा पर्वको पृष्ठभूमि द्वापर युगसम्म पुग्ने जनविश्वास छ । माया देवी चौधरीका अनुसार, भगवान श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा ऋषिहरूसँग रमाइरहेको झूटो आरोप सेविका डिहुलीले लगाएको थिइन् । त्यसपछि आक्रोशमा आएका श्रीकृष्णले सामा र ती ऋषिहरूलाई चरा बन्ने श्राप दिएका थिए । पछि सामाका भाई साम्बले घोर तपस्या गरेर आफ्नी दिदीलाई श्रापबाट मुक्त गराए । श्रीकृष्णले तपस्याबाट प्रसन्न भएर सामा र सबै ऋषिलाई मानव रूपमा फर्काए र आशिष दिए—“जो कसैले माटोको सामा बनाएर यो पर्व मनाउने गर्छ, उसका दाजुभाइको दिर्घायु हुनेछ ।”
त्यही कथनलाई जीवन्त राख्दै थारू समुदायका दिदी–बहिनीहरूले आज पनि यो पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।
थारू संस्कृति संरक्षणको सन्देश
थारू समाज कलैयाका अगुवा चन्द्रकला चौधरीका अनुसार, “समा चकेवा केवल पर्व होइन, हाम्रो सांस्कृतिक पहिचान र महिला सशक्तीकरणको प्रतीक हो ।” उहाँले थपिन्, “थारू समुदायको मौलिकता जोगाउन यस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”
कलैयाका गल्ली र टोलहरूमा अहिले सामा चकेवाका गीत गुन्जिरहेका छन् । दिदी–बहिनीहरू हातमा रंगीन टोकरी, माटाका सामा र दियो लिएर घर–घर हिँडिरहेका छन् । यो दृश्य केवल एउटा पर्वको होइन, थारू जातिको अस्तित्व, गर्व र परम्पराको निरन्तरता हो ।



















