पुष्पराज खतिवडा
बारा,उपराष्ट्रपती रामसहाय प्रसाद यादवले २ वर्षअघि शिलान्यास गर्नुभएको बाराको जीतपुरसिमरा १७ स्थित जैतापुर–रामनगर जोड्ने पसाह खोलामा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।जसपा नेपालका तत्कालिन केन्द्रीय कार्यकारिणी सदस्य, पूर्व वन तथा वातावरण मन्त्रीका रुपमा वर्तमान उपराष्ट्रपती यादवले सो पुलको शिलान्यास गर्नुभएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को जैतापुर–रामनगर जोड्ने गरी पसाह खोलामा पक्की पुल बन्ने भएपछि स्थानीय खुसी बनेका थिए । तर शिलान्यास भएको दुई वर्ष बितिसक्दा समेत निर्माणको सुरसार नदेखिएपछि स्थानीय निरास बन्दै गएका छन ।
सिमरा–कोल्हबी (रजैया) सडकखण्ड अन्तरगत पसाह खोलामा बन्ने पुलको डिपिआर सम्पन्न भई साईड क्लियर गर्ने कामसमेत पुरा भइसकेको छ ।२०७९ असोज ९ गते आइवारका दिन एक भव्य समारोहकाबीच एकैदिन उक्त खोलामा उपराष्ट्रपती यादवले दुई वटा पुलको शिलान्यास गर्नुभएको थियो । जैतापुर–रामनगर र खमुवा–मधुवन जोड्ने दुई पुल शिलान्यास भए पनि अन्य प्रक्रिया भने अगाडि बढेको छैन ।संघीय निर्वाचनको मिति नजिएकै बेला पुल शिलान्यास गरिनुलाई त्यतिबेला नै कतिपयले जसपाको चुनावमा मतदातालाई प्रभाव पार्न गरिएको खेल पनि भनेका थिए । ‘अहिले आएर त्यो आशंका सही साबित भयो, जीतपुरसिमरा उपमहानगरपालिका १७ का पूर्व वडाध्यक्ष नमराज खड्काले भन्नुभयो, आवश्यक बजेट र तयारीबिना नै मतदातालाई प्रभावित पार्न जसपाले आफ्नै पार्टीका नेता सरकारमा मन्त्री रहेका बेला शिलान्यास गरेको थियो ।’४० करोडको लागतमा १६५ मिटर लामो पुल २ वर्षमा निर्माण सम्पन्न गरिने भनेर शिलान्यासका क्रममा उपराष्ट्रपती यादवले उद्धघोष पनि गर्नुभएको थियो । उहाँको सोही भनाई अनुसार काम भइदिएको भए अबको ४ महिनापछि पुल संचालनमा आउनुपर्ने थियो । ‘तर अहिलेसम्म पुल निर्माणको सुरसार समेत छैन, पूर्व वडा अध्यक्ष खडकाले भन्नुभयो, जनतालाई ढाटने काम मात्रै भयो ।’
पुल निर्माणका लागि पहल गरेको दाबी गर्ने बारा क्षेत्र नम्बर ३ का तत्कालिन संघीय सांसद रामबाबुप्रसाद यादवले पनि शिल्यान्यास कार्यक्रममा बोल्दै नेपाल सरकारले पुलको डिपिआर तयार गरिसकेको र बजेट विनियोजन भएको जानकारी दिनुभएको थियो । उहाँले खोलाले बर्षेनी धार परिवर्तन गरेका कारण करीव ९ सय मिटर खोला देखिए पनि दुई सय मिटर लामो मात्रै पुल बन्ने र त्यसका लागि ठेक्का प्रक्रिया सुरु भएको जनाउनुभएको थियो ।
पुल निर्माण प्रक्रियाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाइमा साईड क्लियर गर्ने काम भइरहेको वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर गंतानले बताउनु भएको छ । गंतानका अनुसार जनप्रतिनिधि र सामाजिक अगुवाहरुको रोहबरमा निर्माण हुने पुल क्षेत्रको अनुगमन गरि चार किल्ला निर्धारण गर्ने कार्यसमेत पुरा भइसकेको जानकारी दिनुभयो ।पसाहा खोलामा पुल नहुँदा एउटै वडाका बासिन्दालाई वडा कार्यालयबाट सेवा प्राप्त गर्न समस्या हुँदै आएको थियो । वर्षामा बाढी, डुवान र हिलो अनि सुख्खायाममा धुलोका कारण खोला तर्न हैरानी खेप्दैआउनु परेको रामनगरका स्थानीय अगुवा आत्मादेव भट्टराई बताउनुहुन्छ । अति नै व्यस्त मानिने यो सडकखण्डमा पुल नहुँदा वडा कार्यालयसम्म पुग्न पनि सर्वसाधारणले जंगलको लामो र घुमाउँरो बाटो भएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्य रहेको पनि उहाँले सुनाउनुभयो ।
यसै वर्ष ठेक्का लगाइनुपर्छ : नेता पौडेलनिजगढ,नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम संविधानसभा सदस्य पुरुषोत्तम पौडेलले यसै वर्ष पुल निर्माणको सरकारले ठेक्का लगाउनुपर्ने बताउनुभएको छ ।‘निर्माणको लागि चालू आर्थिक वर्षमा लागि ठेक्का लगाइनुपर्छ, उहाँले भन्नुभएको छ, यसको लागि आवश्यक परे जनस्तरबाट दवाब पनि सृजना गर्न सक्नुपर्छ ।’
बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा पूर्वसदस्य समेत रहनुभएका पौडेलले पुल निर्माणको लागि आर्थिक वर्ष ०७३÷०७४ मा नै सबै काम पुरा भइसकेको पनि बताउनुभएको छ । ‘त्यतिबेला नै बजेटको पनि सुनिश्चितता भइसकेको थियो, उहाँले भन्नुभएको छ, तर लामो भयो भनेर सडक विभागले सो वर्ष टेण्डर नगरी छोटो बनाउन पुनः डिपीआर गरेको थियो ।’
०७४ सालको निर्वाचनपछि पुललाई अर्कोतर्फ डाइभर्ट गर्ने काम गरिएको पनि उहाँले बताउनुभएको छ ।बारा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने पसाह पुल निर्माणको लागि आफूले सधै पहल गर्दैआएको पनि जनाउनुभएको छ ।



















