निजगढ,निजगढ सबडिभिजन वन कार्यालयलको प्रमुख वन अधिकृत शर्मिला नेपालको बुधवार एक कार्यक्रमबीच स्वागत गरिएको छ ।सबडिभिजन वन कार्यालयमा २ दिनअघि हाजिर भएर जिम्मेवारी सम्हाल्नुभएकी अधिकृत नेपाललाई सबडिभिजन वन कार्यालयमा बुधवार बिहान भएको कार्यक्रममा निजगढ क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र कार्यालयका कर्मचारीहरुले फूल, माला र खादा दिएर स्वागत गरेका हुन ।

सामुदायिक वन उपभोक्ता महासंघ निजगढको संयोजनमा भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नगर महासंघका अध्यक्ष अध्यक्ष कुशबहादुर थापा, जनज्योति वन समूह निजगढ ७ का अध्यक्ष खडगबहादुर मोक्तान, आदर्शसदावहार वन समूह निजगढ ९ का अध्यक्ष रामप्रसाद पाण्डे, जनहित वन समूह निजगढ ६, ७ की अध्यक्ष चन्द्रिका पुलामी, जनशक्ति वन समूह निजगढ १ का अध्यक्ष शेखर लोप्चन, सरस्वति वन समूह निजगढ २, ३ का अध्यक्ष रामबहादुर थापा, सुखसितल वन समूह निजगढ २ का अध्यक्ष गोकुल खुलाल, श्रीबकैया वन समूह निजगढ ९ की सचिव शारदा फकामी, जनसृजनशील सामुदायिक वन समूह निजगढ ६ का उपाध्यक्ष माधवप्रसाद रिमाल, कुशल परामर्शका निर्देशक सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अधिकृत नेपालले वन संरक्षणको लागि आफूले इमान्दारिताका साथ काम गर्ने बताउनुभयो । उहाँले समूहका सदस्य र वन सुरक्षाकर्मीहरु आपसममा मिलेर काम गर्नसकेमात्रै वन संरक्षण कार्य प्रभावकारी हुने पनि बताउनुभएको थियो ।
महासंघ बाराका अध्यक्ष रामजी बजगाईले निजगढका सामुदायिक वन समूहहरुले वन संरक्षणमा बारा जिल्लामै नमूना कार्य गर्दैआएको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले संरक्षण कार्यसंगै वन समूहहरुले अब उपभोक्ताहरुको आय आर्जन वृद्धिको लागि वन सम्पदाको प्रयोग गर्ने खालका योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी नगर महासंघ निजगढका अध्यक्ष कुशबहादुर थापाले पनि वन कर्मचारी र सामुदायिक वन समूहहरुको संयुक्त प्रयासमा निजगढमा वन संरक्षण कार्य संचालन भइरहेको बताउदै आगामी दिनमा पनि सहयोग र समन्वयको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले विभिन्न समूहबाट भएका संरक्षण कार्यको बारेमा जानकारी लिन र यसलाई थप प्रभावकारी पार्न वन अधिकृत नेपालले एक पटक निजगढ सबडिभिजन क्षेत्रका सबै वन समूहहरुको निरीक्षण गर्न पनि सुझाव दिनुभएको थियो ।राष्ट्रिय निकुञ्ज विभागको रेञ्जर पदमा लामो समयसम्म काम गर्नुभएकी नेपाल लोकसेवा आयोगको परीक्षामा सफल भएपछि मधेस प्रदेश सरकारले वन अधिकृत पदमा उहाँलाई डिभिजन वन कार्यालय बारामा खटाएको थियो ।
















