पुष्पराज खतिवडा
बारा,बारा जिल्ला सदरमुकाम कलैयामा रहेको प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको चरम लापरबाही पाइएको छ ।अस्पतालमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साह र बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी नेतृत्वको संयुक्त टोलीले आइतवार छड्के अनुगमनको क्रममा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु अनुपस्थित रहेको र चरम लापरबाही फेला पारेको हो ।
अनुगमनका क्रममा अस्पतालमा कार्यरत १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी अनुपस्थित रहेको पाइएको थियो । अनुगमन टोलीमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) छविरमण भट्टराईका अनुसार अस्पतालको सेवा प्रवाह अत्यन्तै कमजोर रहेको र कर्मचारीहरूले समयमा कार्यालय नआउने, न्यूनतम २ घण्टाको ड्युटीसमेत पूरा नगरेको पाइएको छ ।
अस्पतालमा ज्वरो, रुघाखोकी र सामान्य औषधि समेत फार्मेसीमा उपलब्ध नभएको गुनासो बिरामीहरूले गरेका छन् । फार्मेसीमा औषधि नहुँदा बिरामीहरूलाई बाहिरबाट महँगो मूल्यमा औषधि किन्न बाध्य पारिएको र अस्पतालप्रति सर्वसाधारणको विश्वास घटदै गएको छ । अर्थोपेडिक विभागका डाक्टर चन्द्रभूषण यादवले बिरामीलाई निजी क्लिनिकमा रेफर गर्ने गरेको गुनासो पनि आएको छ ।
स्वास्थ्य बिमा गरेका ज्येष्ठ नागरिकहरूलाई समेत आवश्यक औषधि नपाउँदा उपचारमा सास्ती व्यहोर्नु परेको छ ।अस्पतालको क्यान्टिनले बिरामी र सेवाग्राहीहरूलाई स्वच्छ र सस्तो खाना उपलब्ध नगराएको पाइएपछि उक्त क्यान्टिनलाई हटाएर नयाँ व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ । सिडिओ अधिकारीले अस्पताल प्रमुखलाई नियमित रूपमा चिकित्सक र कर्मचारीको उपस्थिति सुनिश्चित गरी छिटो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।