वीरगञ्ज,मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका दिन माघ ८ गते वीरगञ्जका माछा–मासु र मदिराको पसल तथा होटलहरु बन्द गर्न वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ ।अयोध्याको राम मन्दिरको उद्घाटनकै दिन माघ ८ गते वीरगञ्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमा पनि भगवान राम र माता सीताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिने भएकाले उक्त दिन वीरगञ्जमा माछा–मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो ।बुधवार महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा भनिएको छ, ‘अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै अवसर पारेर वीरगञ्जको रामजानकी मन्दिरमा पनि माघ ८ गते भगवान राम र माता सिताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले उक्त दिन कुनै पनि पशु वा पंक्षीको वध, माछा–मासुको बिक्री वितरण लगायतका कार्य नगरिदिनुहुन सरोकारवाला व्यवसायीहरुलाई सूचित गरिन्छ ।’
महानगरको यो सूचनालाई अटेर गरेको पाइएमा सम्बन्धि व्यक्तिलाई नियामानुसार कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।



















