निजगढ, ६ असाेज– बारामा बलात्कारको घटनामा लेनदेनका आधारमा गाउँमै मिलाउन खोज्ने एक जना जनप्रनिधि पञ्चायतीबाटै लखेटिएका छन । पञ्चायति राखेर लेनदेनमा घटना मिलाउन र बलात्कारीलाई बचाउने प्रयास गर्ने जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामएकवाल साह स्थानीय युवाहरुव्दारा लखेटिएका हुन ।
सुवर्ण गाउँपालिका वडा नं. ५ स्थित औरैयामा गत शुक्रबार रति करिब ७.३० बजेको समयमा स्थानीय शिवपुजन यादवले १२ वर्षाय बालिकामाथि जवरजस्ति करणी गरेपछि घटना मिलाउने प्रयास शुरु भएको हो । वडा अध्यक्ष साहले गाउँमा कथित भद्रभलादमीहरुको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको तर स्थानीय युवाहरुले बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउन नहुने भन्दै विरोध गरेपछि प्र्रयास विफल बनेको थियो ।
वडा अध्यक्ष साहले २÷२ पटक पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको स्थानीयले बताएका छन । यसैक्रममा स्थानीय युवा र वडा अध्यक्ष साहबीच पन्चायतिमै भनाभन र हातहालाहालसमेत भएको थियो । त्यसपछि वडा अध्यक्ष पञ्चायति छोडेर भागेका थिए । लेनदेनबाट घटना नमिल्ने देखेपछि आरोपी यादवलाई पनि शनिबारनै भारततर्फ भागाइ्रएको छ । वडा अध्यक्ष साहकै ईशारामा उनी भारततर्फ भागेको स्थानीय युवा विनोद यादवले बताउनुभयो । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई जरिवाना तिराएर लेनदेनका आधारमा मिलापत्र गराउन नहुने र कानुनी कारवाही गरिनुपर्ने यादवको भनाइ छ ।
गाउँमा विश्वकर्मा पूजाको मेला हेरेर घर भन्दा केही पर गोठमा आएर बसेका बुबालाई खाना खान घरमा बोलाउन गएकी किशोरीलाई सोहि ठाउँका वर्ष २५ का शिवपुजन यादवले गम्छाले मुख थुनेर नजिकैको खाली घरमा लगेर जबरजस्ती करणी गरेका थिए । बालिकाले चिच्याएर हारगुहार मागेपछि पुगेका छिमेकीहरुले पनि आरोपित शिवपुजन भागेका प्रस्ट देखेको प्रत्यक्षदर्शी स्थानीय जग्दीलाल यादबले बताउनुभयो । छिमेकीहरुले बालिकालाई उद्धार गरेका हुन ।
पिडक यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ । पीडितका बाबुले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएको र प्रहरीले पिडितको जिल्ला अस्पताल कलैयाबाट स्वास््रथ्य परीक्षण समेत गराईसकेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान तथा फरार भनिएका आरोपितको खोजी कार्य भईरहेको पनि उहाँले बताउनुभयो । यता बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउन खोज्दा आफूलाई लखेट्ने गाउँका ७ जना युवाहरुविरुद्ध वडा अध्यक्ष साहले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । पञ्चायती बसिरहेको समयमा आफुलाई लखेटेर हातपात समेत गरेको भन्दै उनले ती युवाविरुद्ध मुद्दा दर्ता गर्न प्ररहीमा दबाब दिएका हुन् ।