वीरगञ्ज,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरुले आफैं आत्मविश्वासी बनेर समाजलाई सकारात्मक ढंगले चुनौती दिन र परिवर्तनको नेतृत्व लिन आग्रह गर्नुभएको छ ।वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘बृहत महिला सम्मेलन– २०८२’ को उद्धाट समारोहमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको व्यक्तिगत सफलता होइन सिंगो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि हो । यही कारणले महिला उद्यमशीलतालाई सम्मान गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ र आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्छ ।’
समाजमा अझै लैंगिक असमानता पूर्वाग्रह र अवरोधहरु बाँकी रहेकोले त्यसलाई तोड्नुपर्ने बताउनुभयो । यसका लागि महिलाले आफै आत्मविश्वासी बन्नुपर्ने र समाजलाई सकारात्मक ढंगले चुनौती दिएर परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । महिलाको शक्ति, त्याग र समपर्णलाई संस्थागत रुपमा सम्मान गर्न सकियो भने मात्रै समाजमा दिगो विकास र समृद्ध नेपालको सपना पूरा गर्न सकिने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो ।
बढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाई स्वदेशी उत्पादन बढाउन सक्नुपर्ने बताउदै कृषिमा आधारित उद्योग, जडिबुटी र आयुर्वेदिक साना तथा मझौला उद्योग, पर्यटन सूचना प्रविधि तुलनात्मक लाभका उद्योग र उद्यमशीलताको विकास गर्नुपर्ने उहाँले बताउनुभएको थियो । यसले मात्रै निजीक्षेत्रमा स्थायीत्व ल्याउने उहाँको धारणा थियो ।
बारा र पर्सा क्षेत्रका महिलाहरु उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभई सम्पूर्ण समाजको प्रगतिको आधार पनि रहेको भण्डारीले बताउनुभयो ।परिवार निर्माणदेखि उद्योग व्यावसाय शिक्षा स्वास्थ्य र सामाजिक रुपान्तारणसम्म महिलाको योगदान अग्रपंक्तिमा रहदै आएको तर, समाजमा महिलाको योगदानलार्ई अपेक्षित सम्मान अझै प्राप्त नभएको बताउनुभयो । ‘त्यसैले अब हामीले महिलाहरुपनि नेतृत्व गर्न उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न सक्षम छन् भन्ने अवस्थाको सृजना गर्नुपर्छ ।’ भण्डारीले भन्नुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघको महिला उद्यमशिलता विकास समितिकी सभापति डा.लक्ष्मी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका २५ जना महिलाहरुलाई प्रमुख अतिथि पूर्वराष्ट्रपती भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
सिमरामा ५१ किलोको मालाले स्वागत
सिमरा,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनीवार सिमरामा ५१ किलोको मालाले स्वागत गरिएको छ । वीरगञ्जमा आयोजना भएको महिला सम्मलेनमा सहभागी हुन् आउने क्रममा भण्डारीलाई सिमरा विमानस्थलमा शनीवार बिहान ५१ किलोको मालाले स्वागत गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न नेकपा एमालेका केन्द्र, प्रदेश, नगर र वडा स्तरका कार्यकर्ता, सम्मेलन आयोजक समितिका पदाधिकारीहरु सिमरा विमानस्थल पुगेका थिए । भण्डारीलाई एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले मधेस प्रदेश कमिटी सदस्य चयन गुरुङ, राज महमद राय, कमलेश झा, ईश्वर ढकाल, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहसहितका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।
भण्डारीलाई स्वागत गर्न बाराको चार वटै निर्वाचन क्षेत्रबाट एमालेका कार्यकर्ता र स्थानीय उपस्थित थिए । भण्डारीले विमानस्थलको गेट बाहिरसम्म लामबद्ध भएर बसेका नेताकार्यकर्ता र स्थानीयसंग भेट गर्नुभएको थियो ।यसैबीच पूर्व राष्ट्रपति भण्डारी भोलि (आइतबार) बाराको सदरमुकाम कलैयामा आउनुहुने भएको छ ।मदन भण्डारी फाउन्डेशन मधेश प्रदेश कमिटीले आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन उहाँ बारा आउन लाग्नुभएको हो । पूर्व राष्ट्रपति भण्डारीले बिहान गढीमाई मन्दिरको दर्शनपछि कलैयास्थित दरबार होटलमा मदन भण्डारी फाउन्डेशन बाराले आयोजना गरेको कार्यकर्ता भेटघाटमा सरिक हुने कार्यक्रम रहेको फाउन्डेशनका मधेस प्रदेश अध्यक्ष राज मोहम्मद रायले जानकारी दिनुभयो ।
















