कलैया,वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको संक्रमण पुष्टि भएपछि यसको प्रभाव बाराको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, पर्सौनी र फेटा गाउँपालिकामा समेत फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन थालिएको छ ।कलैया उपमहानगरपालिकालेसम्भावित जोखिमलाई ध्यानमा सोमवार सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका लागि स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी सूचनामा चट्पटे, पानीपुरी, चाट, बासी तथा सडेगलेका माछा जस्ता खाद्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।

साथै होटल तथा रेस्टुरेन्टहरूले खाद्य सामग्री स्वच्छ तरिकाले बिक्री गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । हैजाको संक्रमण मुख्यतया अस्वच्छ खानेपानी, बासी तथा सडेगलेका खाद्य वस्तुहरूबाट फैलिने गरेको छ ।उपमहानगरपालिकाले सबैलाई खाना खानु अघि साबुन पानीले राम्ररी हात धुन, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउनु, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले हैजाको संक्रमण नियन्त्रण र रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गरेको जनाएको हो ।जीतपुरसिमरा नगर अस्पताल, सिमरामा हैजा उपचारका लागि आवश्यक तयारी मिलाइएको छ भने सम्पूर्ण स्वास्थ्यकर्मीलाई ‘हाई–अलर्ट’ मा राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभएको छ ।महामारी नियन्त्रण तथा उपचारका लागि ९ सदस्यीय द्रुत प्रतिकार्य टोली समेत गठन गरिएको छ । उपमहानगरपालिकाले नगरवासीलाई सतर्क रहन, खानेपानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न र कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।

‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गरेको जनस्वास्थ्य प्रबर्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभएको छ ।उता, परावनीपुर गाउँपालिकाले पनि छिमेकी शहर वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न वडा स्तरमै प्रतिकार्य गर्ने भएको छ । गाउँपालिकाले आइतवार आपकालिन बैठक राखेर हैजा फैलन नदिन र जाखिम न्यूनीकरणका लागि योजना बनाएको हो ।गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रतिनिधि, एलएस न्यूरो अस्पतालका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक उपस्थित थिए ।

बैठकले वीरगञ्जमा फैलिएको हैजाबाट पालिकामा पर्न सक्ने सम्भावित असर तथा रोकथामका उपायबारे गहन छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताउनुभयो । बैठककले पालिका र वडास्तरका अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।अनुगमन समितिले नियमित रूपमा निगरानी गर्दै हैजा नियन्त्रणका लागि आवश्यक कदम चाल्ने रौनियारले बताउनुभयो ।
हैजा प्रभावित क्षेत्रमा स्वास्थ्यमन्त्री
कृष्णउदास खनाल
वीरगञ्ज,स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताउनुभएको छ ।सोमवार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुमगनका लागि आइपुग्नु भएका मन्त्री पौडेलले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।
यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्ने समय भएकोभन्दै उहाँले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौं । सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून शुल्क लिएर बिरामीलाई सुविधा दिने अवस्था आउँछ भने हामी छलफल गर्न तयार छौं । निजी अस्पतालहरूले पनि अहिले मानवीयतालाई ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था हो ।’

निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पु¥याइरहेको भन्दै उहाँले सरकार तिरमात्रै ताकेर होइन कि निजी क्षेत्रको तर्फबाट पनि सहयोग गरी समाजमासेवा गर्नुपर्ने बताउनुभएको थियो ।सो अवसरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत मधेस प्रदेशका स्वास्थ्य अधिकारीको पनि उपस्थिति थियो ।

वीरगञ्जमा गत शुक्रबारबाट फैलिएको हैजा समुदाय स्तरमा नै देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।
सोमवार थप २६ जनामा हैजाको संक्रमण पुष्टी भएको नारायणी अस्पताल वीरगञ्जका डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । हैजाको शंखास्पद लक्षणका कारण वीरगञ्जमा दुईजनाको ज्यान गएको बताइएको छ । हैजाको प्रकोप देखिएपछि वीरगञ्ज क्षेत्रमा कडाइ गरिएको छ ।

Leave a Reply