कृष्णउदास खनाल
वीरगञ्ज,
वीरगञ्ज महानगरमा हैजा (कोलेरा) को महामारी समुदायस्तरमै फैलिएपछि यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । शुक्रवारबाट समुदाय स्तरमा नै हैजा फैलिएको पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको भएपनि आइतवार पनि बिरामीहरु उपचारका लागि अस्पतालहरुमा आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वासथ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भइसकेको हो । सबैभन्दा बढी वीरगञ्जको नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिनुभएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन् । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
नारायणी अस्पतालामा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैयाको अभावमा बिरामीलाई बरण्डाको भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, वीरगञ्जमै हैजाका शंकास्पद दुई जना बिरामीको मृत्युपनि भइसकेको छ ।
नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको शुक्रवार मृत्यु भएको हो । डा. सिंहका अनुसार झाडापखालाबाट सिकिस्त भएपछि ती दुवै बिरामीलाई अस्पताल ल्याइएको थियो । तर अस्पतालमा ल्याइपुर्याउँदा दुवैको मृत्यु भइसकेको थियो । तर उनीहरुको मृत्यु झाडापखाला वा हैजा कुन कारणले भएको हो भनेर पुष्टि हुन भने बाँकी छ ।

हैजाको रोकथाम र नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् । वीरगञ्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालयले आ–आफनो तहबाट लागेका छन् ।
खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगञ्जमा खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंबाट वीरगञ्जमा खटिएको छ । आवश्यक सामग्री सहितको मोबाइल भ्यान टोली नै खटिएको र टोलीले वीरगञ्जमा आएर पानी परीक्षणको काम सुरु गरिसकेको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा वीरगञ्जमा हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयबाट पनि डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरसहितको टोली वीरगञ्जमा आइपुगेको छ ।वीरगञ्जमा हैजाको संक्रमण देखिनु र फैलिनुको कारण भने अहिलेसम्म यकिन भइनसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए पनि दुषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी नामक जीवाणु प्रवेश गरेपछि हैजा रोग्ने लाग्ने गर्छ । तर वीरगञ्जमा कुन कारणले हैजाको महामारी फैलिएको भन्ने बारेमा अहिलेसम्म यकिन भइनसकेको उहाँले बताउनुभयो ।

यसैबीच गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।आइतवार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुनसक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । ‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’, बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भन्नुुभयो, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’

बाराको प्रसौनीमा उच्च सतर्कता
कलैया,वीरगञ्ज महानगरपालिकामा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि आफ्नो पालिकामा पनि सङ्क्रमण फैलिन सक्नेभन्दै बाराको प्रसौनी गाउँपालिकामा पनि उच्च सतर्कता अपनाएको छ ।गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले आइतवार एक सूचना जारी गर्दै स्थानीय बासिन्दालाई स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

वीरगञ्जसँग सिमाना जोडिएको बाराको प्रसौनीमा हैजाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य सर्तकतामा कडाइ गरेको जनाएको छ ।गाउँपालिका सडक पेटीमा बिक्री हुने चटपटे, पानीपुरी, चाट र माछाजस्ता खाद्य पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यस्ता खानेकुराबाट हैजा फैलिने सम्भावना उच्च रहेको गाउँपालिकाको ठहर छ ।होटेल र रेस्टुरेन्टहरूलाई खाना स्वच्छ र सुरक्षित तरिकाले भण्डारण तथा बिक्री गर्न निर्देशन दिइएको छ ।
सूचनामा खुला ठाउँमा दिसा–पिसाब गर्न पूर्ण रूपमा निषेध गरिएको छ र सबैलाई शौचालयको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।

Leave a Reply