निजगढ,संघीय सरकारको अर्थमन्त्रालयले निजगढ नगरपालिका कार्यालयलाई एउटा चारपाङ्ग्े सवारी साधन स्कार्पियो जीप सहयोग गरेको छ ।मन्त्रालयले कर तथा राजश्व छुट हुने गरी नगरपालिका कार्यालयलाई महेन्द्रा कम्पनीको स्कार्पियो जीप सहयोग गरेको हो ।
माननीय उपप्रधान तथा अर्थ मन्त्रीस्तरको तथा सोही मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार उपलब्ध गराएको सो जीपको चाबी मन्त्रालयका प्रशासन फाँटका शाखा अधिकृत कृष्णराज खतिवडाले निजगढ नगरपालिकाका सवारी चालक रुद्रबहादुर चौलागाईलाई आइतवार हस्तान्तरण गर्नुभएको छ ।बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र स्वकीय सचिव दामोदर मैनालीको पहलमा युएसएडको स्वामित्वमा रहेको सो जीप निजगढ नगरपालिकालाई सहयोग गर्न मिति २०८२-०४-०८ मा अर्थमन्त्रीस्तर र २०८२-०५-०३ मा सचिवस्तरको निर्णय भएको थियो ।
मन्त्रालयले उक्त जीपको दर्ता निजगढ नगरपालिका कार्यालयको नाममा कायम गर्ने व्यवस्थाको लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरलाई समेत पत्राचार गरेको छ ।योसंगै निजगढ नगपालिकाको स्वामित्वमा अब ३ वटा जीप रहने भएका छन । यसअघि निजगढ नगरपालिकाले टाटा सुमो र महेन्द्र कम्पनीको पिकअप भ्यान खरिद गरेको थियो ।मन्त्रालयबाट थप अर्को गाडी प्राप्त भएपछि स्थानीय सरकार सञ्चालन, सुशासनका साथै योजना अनुगमन र नागरिकहरुको सेवामा प्रभावकारिता आउने विश्वास लिइएको सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले बताउनुभएको छ ।

















