निजगढ,‘माटो जोगाऔं’ अभियान अन्तरगत देशव्यापी दौडाहा सुरु गरेको युवाहरुको टोली आइतवार साँझ निजगढ आइपुगेको छ ।

अभियान्ता नविन पुन मगरसहित ४ जना युवाहरुको टोली निजगढ आइपुगेको हो । जैविकविविधताको आधार माटो नै भएको र त्यसको संरक्षण गर्नुपर्ने भन्दै मगरसहितको टोलीले एकसाता अघि काठमाण्डौंबाट मेची– महाकाली दौड अभियान सुरु गरेको थियो । काठमाडौंबाट धादिङ हुँदै पर्साको वीरगन्ज भएर करिब ३ सय किमी दुरी पार गर्दै टोली निजगढ आइपुगेको हो । मगरबाहेक टोलीका अन्य सदस्यहरुले भने सवारीसाधनको प्रयोग गरेका छन ।

पृथ्वीको मरुभूमीकरण रोकेर र जैविकविधताको संरक्षण गर्न आफूहरुले माटो संरक्षण अभियान सुरु गरेको टोलीका अर्का सदस्य सनम लिम्बुले बताउनुभयो । अहिले माटो क्षयीकरण हुने क्रम बढेको र यसले पृथ्वीमा खाद्यान्न अभाव लगायत गंम्भीर प्रकृतिका वातावरणीय समस्या उत्पन्न गर्ने दाबी गर्नुभयो । ‘जैविकविविधतामा हस हुदै गएको छ, उहाँले भन्नुभयो, यसले पृथ्वीको अस्तित्वमा नै संकट उत्पन्न गर्छ ।’

जैविकविविधताको संख्या यही रफ्तारमा घट्दै गएको खण्डमा अबको २० देखि २५ वर्षमा पृथ्वीमा खाद्यान्नको लागि मानिसबीच युद्ध हुने अभियानका अर्का सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटो नै पृथ्वीमा जीवनको आधारण हो, उहाँले भन्नुभयो, यही माटोमा हस आयो भने जीवजन्तु र वनस्पतिको अस्तित्व समाप्त हुन्छ ।’ उहाँले पृथ्वीमा हरेक १ सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको पनि सुनाउनुभयो । उहाँले माटोमा रसायनिक मलको बढ्दो प्रयोगलाई घटाउनु पर्ने र यसका लागि सरकारले नीति निर्माण गरेर लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब ७५ दिनमा ७७ वटै जिल्लाका विभिन्न स्थानमा पुगेर टोलीले अभियान संचालन गर्ने बताइएको छ ।

भारतका सद्गुरुले सुरु गर्नुभएको अभियानबाट प्रभावित बनेर युवाहरुले नेपालमा पनि अभियान संचालनमा ल्याएका हुन । सद्गुरुले माटो बचाऔं अभियान अन्तरगत १ सय दिनमा मोटरसाइकलमार्फत ३० हजार किलो मिटर यात्रा तय गर्नुभएको थियो ।

टोलीले सोमवार बिहान निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका छात्रछात्रासंग माटो संरक्षण बारेमा अन्तरक्रिया गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here