निजगढ,बीमा प्रदायक कम्पनी हिमालयन एभरेष्ट ईन्स्योरेन्स सिमराको ढिलासुस्तिका कारण निजगढमा अवरुद्ध बन्दैआएको केरा खेतीको बीमा कार्य सूचारु हुने भएको छ ।निजगढका किसानहरुको पटक पटकको दवावपछि हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनी सिमरा केरा खेतीको बीमा गर्न तयार परेको हो ।
बीमा कम्पनीले निजगढ नगरपालिका कार्यालयलाई पत्र पठाएर बीमा शुरु गर्न लागिएको जानकारी गराएपछि अवरुद्ध बनेको केरा खेतीको बीमा निश्चित भएको हो ।हिमालयन एभरेष्ट ईन्स्योरेन्सले गत बिहीवार निजगढ नगरपालिका कार्यालयमा किसानको बीमा सुचारु गरिने जानकारीसहितको पत्र पठाएपछि नगरपालिकाले पनि सूचना निकालेर इच्छुक किसानहरुको लागि बीमासम्बन्धि सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले बीमा कम्पनीको पत्र उद्धित गर्दै जारी गर्नुभएको सूचनामा बीमा प्राधिकरणबाट जारी भएको केरा खेती बीमालेखको अधिनमा रहने गरि बीमा गर्न इच्छुक निजगढका किसानहरुले बीमा कम्पनीको कार्यालय सिमरामा सम्पर्क गर्न भनिएको छ ।सूचनाअनुसार किसानले प्रस्तावना र प्राविधिक फारम भरेर तिनपुस्ते विवरणसहित नेपाली नागरिकता र व्यवसायिक फर्मको हकमा प्यान नम्बर र दर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने छ ।
त्यसैगरी केरा खेती भएको जग्गाको लालपुर्जाको प्रतिलिपि (ऐलानी जग्गाको हकमा चार किल्ला वा ऐलानी जनाउने संकेत नम्बरसहितको स्थानीय तहको सिफारिस र भाडामा लिएको भए सोको सम्झौतापत्र पनि पेस गर्नुपर्ने सूचनामा जनाइएको छ ।
त्यस्तै बीमा गर्न चाहने किसानले केरा खेतीको फरक फरक दृश्य देखिने कम्तिमा ५ ओटा फोटो, कृषि सेवा कार्यालयबाट बीमीतको नाम, खेती रहेको स्थानको ठेगाना, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, बोट संख्या र बीमा गर्न योग्य रहेको सिफारिस पत्र तथा फिल्ड भिजिट रिर्पोट पनि पेस गर्न भनिएको छ ।नेपाल बीमा प्राधिकरणको सफ्टवेयरमा बीमा जारी गर्नुपर्ने भएकोले अनिवार्य रुपमा मोबाइल लिएर किसान स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने पनि सूचनामा जनाइएको छ ।



















