वीरगञ्ज,आफ्नो प्रेमिकाको हत्यापछि फरार बनेका एक जना आरोपीलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका वडा नम्बर ९ कोरिया टोल बस्ने वर्ष २५ को मन्दिपकुमार यादव रहेकाछन् ।
विशेष सूचनाको आधारमा उनलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमा यही असोज २३ गते बिहान जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ५ टुटेश्वर जङ्गलमा त्यतिबेला नाम, थर, वतन नखुलेको महिलाको शव प्राप्त भएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित यादवलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा तालिमप्राप्त कुकुरहरु लगाएर घटनास्थलको चेकजाँचसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतहरुमा फोटोसहितको विवरण समेत राखिएको र घटनाको पाँच दिनपछि मृतक सर्लाही जिल्लाकै अनु राय रहेको खुलेपछि अभिभावकहरुले सनाखत गरेको उहाँले बताउनुभयो । अनुले असोज २२ गते अभिभावकहरुलाई साथी सन्दिपलाई भेट्न वीरगञ्ज जान लागेको जानकारी गराएको तर त्यसपछि उनको शव मात्रै भेटेको अभिभावकहरुले जानकारी दिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक जैसवारले जानकारी दिनुभयो ।

मन्दिप र अनुबीच कक्षा चारमा पढ्दादेखि नै चिनजान र प्रेम रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुबीच विवाहलाई लिएर वादविवाद हुँदै आएपनि बर्दिबासमा भेटेकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेपछि मन्दिपले पनि थप्पड हान्दा उनी वेहोस भएको र मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीबाट घाँटीमा कसेर हत्या गरी भागेको प्रहरीले जनाएको छ ।
प्रेमिकाको हत्यापछि मन्दिपले उनको शव बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक जैसवारले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्वीकार गरेका छन ।प्रहरी नायब उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा, फोनको लोकेसन तथा महिनौसम्मको प्रयासपछि मन्दिपलाई पक्राउ गर्न शंभव भएको बताउँदै थप अनुसन्धानको लागि अदालतबाट म्याद थप गरिएको जानकारी दिनुभयो ।

Leave a Reply