वीरगन्ज,निरन्तर परिरहेको पानी र स्थानीय प्रशसनले लगाएको निषेधाज्ञा कारण पर्सा–बाराका इँटा उद्योगलाई नोक्सानी भएको छ । गत वर्ष पनि लामो समयसम्मको लकडाउन र वर्षाले इँटा उद्योगमा ठूलो क्षति पु¥याएको थियो । इँटा उद्योगहरूले यस वर्ष पनि ठूलो नोक्सानी व्यहोरेको बाबा इँटा उद्योग कलैयाका व्यवस्थापक सीताराम आचार्यले बताउनुभयो । उहाँले गत वर्षकै क्षतिको हर्जना नपाएको र यस वर्ष पनि निषेधाज्ञा र बर्षा दुवैले नराम्रोसँग थिचेको गुनासो गर्नुभयो । उहाँले बर्सेनी हुने निषेधाज्ञा र लकडाउनले तयारी इँटा बिक्री गर्नै नपाएर उद्योग चलाउनै नसक्ने अवस्था आएको बताउनुभयो । पर्सा र बाराका गरी करिब २५ इँटा उधोगका काँचो इँटालाई बर्षाले क्षति पु¥याएको उहाँले बताउनुभयो । धेरैजसो उद्योगले यस वर्ष इँटा उत्पादन गरेर मौज्दात राखिसकेका थिए ।

करिब २५ प्रतिशत उद्योगले काँचो इँटा पकाउन पाएका थिएनन्  । ती इँटा बर्षाले नष्ट भएको आचार्यले बताउनुभयो  । करिब २५ प्रतिशत उद्योग गत वर्षकै लकडाउनपछि बन्द भएको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि विकास निर्माणको कामले गति लिने सम्भावना थियो । तर, निषेधाज्ञा लम्बिँदै गएको र अब बर्षायाम सुरु हुने भएकाले यस वर्ष विकास निर्माण कम हुने उहाँको अनुमान छ । पर्सा र बारामा गरी करिब १ सय इँटा उद्योग छन्  । पर्सा–बारा इँटा उद्योग संघका अध्यक्ष असर्फीप्रसाद जयसवालले आफूसँग यस वर्ष बिक्री नभएको १६ लाख वटा इँटा मौज्दात रहेको बताउनुभयो  । पर्सा–बाराका १ सयमध्ये ५० प्रतिशत उद्योगले यस वर्ष उत्पादन गरिसकेको तर निषेधाज्ञाले बिक्री ठप्प भएको उहाँको भनाइ छ । गत वर्षको घाटाको पूर्ति र यस वर्षको लागत मात्र उठाउन कतिपय इँटा उद्योगले प्रतिट्रेलर ४ हजारदेखि ४ हजार पाँच सय रुपैयाँ घाटा व्यहोरेर भए पनि इँटा बेच्न बाध्य भएको जयसवालले बताउनुभयो । इँटा उद्योगका मिस्त्री र मजदुर अधिकांश भारतीय नै हुने भएकाले निषेधाज्ञा सुरु हुनुअघि उद्योगले भारतीय मजदुरलाई उनीहरूको पारिश्रमिक दिएर घर पठाउनु परेको जयसवालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here