कलैया,विशेष अदालतको संयुक्त इजलासले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलादप्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले मंगलवार सुनाएको फैसलामा प्रतिवादीहरूविरुद्ध प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर गर्दै कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहलाई सफाइ दिइएको हो ।

अर्थिक वर्ष २०७७-०७८ तथा २०७८-०७९ मा सेनिटरी प्याड खरिदमा सार्वजनिक खरिद नियमावली र कार्यविधि उल्लङ्घन गरी अस्वाभाविक मूल्य निर्धारण, एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत २६ गते आरोपपत्र दायर गरेको थियो ।


















