रौतहट,मिटरब्याजी साहु–महाजनहरूको ज्यादतीविरुद्ध रौतहटका विभिन्न स्थानमा किसान तथा मजदुरहरूले आन्दोलन सुरु गरेका छन् । अत्यधिक ब्याजदरमा ऋण लगानी गरी सर्वसाधारणलाई शोषण गरिएको आरोप लगाउँदै आन्दोलनकारीहरूले आइतबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका हुन् ।
आन्दोलनमा सहभागी किसान तथा मजदुरहरूले मिटरब्याजी प्रथाका कारण आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । उनीहरूका अनुसार थोरै रकम ऋण लिँदा पनि अत्यधिक ब्याज तिर्नुपर्ने बाध्यता रहेको छ, जसका कारण धेरैले आफ्नो जग्गा–जमिनसमेत गुमाउनुपरेको अवस्था रहेको छ ।
प्रदर्शनकारीहरूले मिटरब्याजी साहु–महाजनमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, पीडितहरूको ऋण पुनर्संरचना र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
आन्दोलनकारीहरूले मिटरब्याजसँग सम्बन्धित जाली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा फर्जी चेकहरू मन्त्रिपरिषद् स्तरबाट अवैध घोषणा गरी खारेज गर्नुपर्ने बताएका छन् । उनीहरूले मिटरब्याज अपराध उन्मूलनका लागि कडा विशेष ऐन निर्माण गर्नुपर्ने, पीडितमैत्री न्यायाधिकरण गठन गरी मुद्दाहरू स्थगित गर्नुपर्ने तथा जेलमा रहेका पीडितहरूलाई रिहा गर्नुपर्ने माग पनि गरेका छन् ।
त्यसैगरी साहु–महाजनले अवैध रूपमा जोडेको सम्पत्तिको छानबिन गर्नुपर्ने, हडपिएको चल–अचल सम्पत्ति फिर्ता गराउनुका साथै हिंसा तथा दुव्र्यवहारका घटनामा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । साना व्यवसायी तथा उद्यमीहरूका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याई न्यायपूर्ण आर्थिक कारोबारको वातावरण निर्माण गर्नुपर्नेमा पनि आन्दोलनकारीहरूले जोड दिएका छन् ।आन्दोलनकारीहरूले स्थानीय प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन् । यस विषयमा स्थानीय प्रशासनले भने समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।


















