वीरगन्ज,पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ हनुमाननगरमा पानी जमेको खाल्डोमा डुबेर एकै घरका दुई जना दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा मनोजय कठायतका छोरा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्।दुवै दाजुभाइ मंगलवार बिहान विद्यालय जानुअघि घर नजिकै रहेको खोलामा नुहाउन गएका थिए। घरबाट नजिकै खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका उनीहरू त्यसपछि डुबेर बेपत्ता भएका थिए।

स्थानीयले पानीमा तैरिरहेको अवस्थामा दुवैलाई देखेर उद्धार गरी ठोरीस्थित अस्पतालमा पु¥याएपनि स्वास्थ्यकर्मीले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
दुवैको शव शल्यपरीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता लम्सालले जानकारी दिनुभएको छ ।














