नरेश गुप्ता

बरियारपुर,बारामा टायफड विरुद्धको खोप तीन चरणमा संचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बारामा मंगलबार आयोजित कार्यक्रममा टायफड विरुद्धको खोपबारे जानकारी गराइएको हो ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान संचालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत रामनरेश यादवले जानकारी दिनुभयो । अभियान अन्तरगत बारामा २ लाख ४१ हजार ६ सय ९६ जनाले खोप प्राप्त गर्ने छन ।

टायफड विरुद्धको खोप १५ महिनादेखि ४ वर्ष मुनिका ५० हजार ८ सय २८ जना र त्यसैगरी ४ वर्षमाथि १५ वर्षसम्मका १ लाख ९० हजार ८ सय ६८ जनालाई एक डोज खोप लगाइने जनस्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । अभियान अन्तर्गत डब्ल्लुएचओले प्रमाणीकरण गरेको र प्री क्वालाईफाईड भ्याक्सिन लगाइने उहाँले बताउनुभयो ।

बारामा पहिलो चरणमा जितपुरसिमरा उपमहानगरपालिका, प्रसौनी, बिश्रामपुर,फेटा र परवानीपुर गाउँपालिकामा अभियान संचालन गरिने बताइएको छ । दोस्रो चरणको लागि निजगढ, महागढीमाई नगरपालिका र बारागढी तथा करैयामाई गाउँपालिकामा कार्यक्रम संचालन गरिने छ ।

त्यसैगरी तेस्रो चरणमा कलैया उपमहानगरपालिका, सिम्रौनगढ र पचरौता नगरपालिका तथा आदर्श कोतवाल र देवताल गाउँपालिकामा टायफड विरुद्धमा खोप लगाउने तयारी गरिएको छ । उच्चज्वरो आएका, संक्रमित बालबालिका, एचआईभि संक्रमित, गर्भवती महिलालाई खोप नलागाउने उहाँले जानकारी गराउनुभयो । खोप कार्यक्रम नजिकको विद्यालयमा ६ दिनसम्म र त्यसपछि नजिकको स्वास्थ्य संस्थामा संचालन गरिने बताइएको छ ।

बारा जिल्लामा टायफड विरुद्धको खोप व्यवस्थापनको लागि १ हजार ३ सय ८० खोप केन्द्र तथा २ हजार ७ सय ६० स्वयंसेवक परिचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here