निजगढ,यो वर्ष बीमा कम्पनीले केराको बीमा सममै नगरेपछि समस्यामा परेका निजगढका केरा खेती गर्ने किसानहरुले बीमा कम्पनीको कार्यालयमा बिहीवार ज्ञापनपत्र बुझाएका छन ।हरेक वर्षको असार-साउन महीनाभित्रै बीमा हुदैआएकोमा यस वर्ष कम्पनीले अहिलेसम्म पनि निजगढका कृषकहरुको केरा खेतीको बीमा नगरेपछि पीडित किसानहरुले बारा केरा तथा फलफूल उत्पादक व्यवसायी संघको अगुवाइमा गएको टोलीले हिमाल एभरेष्ट बीमा कम्पनीको कार्यालय वीरगञ्जमा ज्ञापनपत्र बुझाएका हुन । निजगढका किसान गोबिन्द खरेल, माधव न्यौपाने, हरि चौलागाई, शिवराम श्रेष्ठलगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
यसअघि किसानहरुले समयमै कोरा खेतीको बीमा हुनुपर्ने माग राखेर बीमा प्राधिकरणको केन्द्रीय कार्यालय काठमाण्डौंमा पनि ज्ञापनपत्र बुझाएका थिए ।बीमा कम्पनीले किसानलाई मार्कामा पार्ने गरी नियतवश आलटाल गरेर समयमै बीमा नगरेपछि बीमा प्राधिकरण र बीमा कम्पनीलाई ज्ञापनपत्र बुझाउनुपरेको संघका जिल्ला अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।‘समय गुजारेर ढिलो बीमा गर्दा क्षति किसानलाई कम्पनीले बीमाको रकम कम दिनुपर्ने हुन्छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यही भएर कम्पनीले नाफा कमाउन समयमै बीमा गर्न आलटाल गर्दैआएको हो ।’
बीमा कार्यक्रम अन्तर्गत जुनसुकै महीनामा बीमा गरेपनि किसानले कम्पनीलाई १ वर्ष अवधिको पुरै रकम बुझाउनुपर्ने र किसानले भने बीमा भएको अवधिदेखिमात्रै हिसाब गरेर कम रकम पाउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीले १२ महीना अवधिसम्मको बीमा गर्ने किसानलाई प्रतिकठ्ठा १८ हजार रुपैया क्षतिपूर्ति क्षतिपूर्ति दिने गरेको छ । यो प्रावधानअनुसार बीमा गर्न जति महीना बीमा ढिला भयो सोहीअनुसार किसानले रकम पनि कम प्राप्त गर्नेछन ।
समयमै बीमा हुनुपर्ने किसानहरुको पटक पटकको आग्रहका बाबजुद पनि नाफा कमाउने नियतमा कम्पनीले केराको बीमा गर्न ढिलाइ गर्दैआएको किसानहरुको आरोप छ । कम्पनीले किसानहरुको केरा खेतीको समयमै बीमा गर्न आनकानी गरेपछि समयमै बीमा गर्न माग राखेर सरोकार निकायवालाहरुमा ज्ञापनपत्र बुझाइएको अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।बीमा कार्यक्रम अन्तर्गत किसानको २० प्रतिशत र सरकारी अनुदानबाट प्राप्त हुने ८० प्रतिशत रकमबाट कम्पनीले केरा खेतीको बीमा गर्दैआएको छ ।
















