बसन्त लामा
सिंगौल,रौतहतको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ मा केरा खेती गर्दै आइरहेका कृषकलाई स्प्रे ट्याङकी वितरण गरिएको छ ।वडा नम्बर ३ कार्यालय गैडाटारले केरा खेती गर्दै आईरहेका १ सय २३ स्थानीय कृषकलाई मंगलवार वडा कार्यलय भवनमा आयोजित कार्यक्रममा स्प्रे ट्याङकी वितरण गरेको हो ।किसानलाई वितरण गरिएको स्प्रे ट्याङकी विद्युतबाट चार्ज गर्न मिल्ने र चार्ज सकिएको अवस्थामा हातले समेत चलाउन सकिने प्रविधिको छ ।५ कठ्ठाभन्दा माथिको निजी जग्गामा केरा खेती गर्दै आइरहेका स्थानीयलाई मात्र स्प्रेट्याङकी निशुल्क रूपमा वितरण गरिएको हो ।वडा कार्यालयले स्थानीयलाई स्प्रे ट्याङकी वितरण गरेपनि अन्यत्रबाट आएर गैडाटारमा केरा खेती गर्ने किसानलाई भने सो सुविधा प्रदान गरेको छैन । गैडाटारमा अन्य स्थानबाट आएर स्थानीयको जग्गा भाडामा लिएर केरा खेती गर्नेको संख्या पनि धेरै छ ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले उत्पादन गरेको स्प्रे ट्याङकी किसानलाई वितरण गरिएको हो ।केरा खेतीमार्फत स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने र जीवनस्तर सुधार गर्ने उदेश्यले कार्यालयले निःशुल्क रुपमा स्प्रे ट्याङकी वितरण गरेको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो ।

Leave a Reply