काठमाडौं,सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।आइतवार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार आयोगका सदस्यमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका सहसचिव प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहनु भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार पूर्वसहमतिबाट पछि हटेको भन्दै संसद अवरुद्ध गर्ने बटमलाइन सुनाएपछि सरकारले आयोग गठन गरेको हो । आयोग गठनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको थियो । बैठकमा जाँचबुझ आयोगको कार्यादेश गठनबारे दलहरूबीच सहमति भएको थियो । लामो समय अडानमा रहेको सत्तारुढ दल आज भने एमालेकै मागअनुसार कार्यादेशमा सहमत भएको छ ।सर्वदलीय बैठकमा सहमति जुटेलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । तर, आयोग गठन गर्नेमा सरकारले आलटाल गर्दै आएको थियो । सरकार सुन तस्करीको संरक्षक बनेको भन्दै आयोग गठनका लागि चौतर्फी दबाब आएपछि जाँचबुझ आयोग गठन गर्न प्रधानमन्त्री दाहाल तयार हुनुभएको हो ।

Leave a Reply