निजगढ,प्रहरीले निजगढस्थित पूर्वपश्चिम राजमार्गको सडक किनारामा लामो समयदेखि रोकेर राखिएको अवस्थामा भारतीय नम्बर प्लेटको एउटा बेवारिसे कार शनीवार नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ ७ को शहीद चोकको कुमारी बैङ्ग रहेको घर अगाडिबाट शनीवार बिहान बिआर ०६ बिआर– ३४५४ नम्बरको रेनोल्ट कम्पनीको भारतीय कार बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटको एउटा कार लामो समयदेखि बेवारिस अवस्थमा रहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा गएको प्रहरी टोली शनीवार बिहान १० बजेतिर गएकोले टोलीले लक गरेर राखेको अवस्थाको सो कार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । सादा पोशाकमा गएका प्रहरीले घँचेडेर कार प्रहरी कार्यालयमा ल्याएका थिए ।‘कार्यालयमा ल्याएपछि खोलेर भित्र हेर्दा भारतीय नागरिकको नाममा रहेको सवारी चालक अनुमतिपत्र र भन्सार तिरेर पटकपटक नेपाल भित्रिएको कागजात बाहेक, अन्य विवरण खुल्ने कुनै प्रमाण फेला पार्न सकिएन, निरीक्षक लामिछानेले भन्नुभयो, पछिल्लो पटक वीरगञ्ज नाकाबाट सो कार नेपाल भित्र्याइएको देखिएको छ ।’

बरामद कारको बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।शहीद चोकमा मोबाइलको पसल गर्दैआउनुभएका व्यवसायी खडगप्रसाद उप्रेतीका अनुसार करिब २ हप्ताअघि सो कार भारतीय मुलका जस्ता देखिने मान्छेहरुले ल्याएर पसल अगाडि रोकेको आफूले देखेको सुनाउनुभयो । ‘२ जना मान्छे ओर्लिएर कारको बर्नर पनि खोलेका थिए, उहाँले भन्नुभयो, बिग्रिएर मर्मत गर्न खोजेको होला भन्ने लागेर चासो दिइएन, तर लामो समयसम्म कोही पनि लिन नआएपछि शंका लागेर प्रहरीलाई खबर गरियो ।’

Leave a Reply