निजगढ,निजगढ नगरपालिकाले निजगढ ६ को बागदेव दुग्ध उत्पादक सहकारी संस्था र निजगढ ७ स्थित जनकल्यान दुग्ध उत्पादक सहकारीमार्फत दूधको बिक्री गर्ने कृषक सदस्यलाई प्रदान गर्दैआएको अनुदान अब सिधै किसानको बैंक खातामा जम्मा हुने भएको छ ।
नगरपालिकाले यसअघि सहकारी संस्थाको खातामा अनुदान रकम जम्मा गर्दै आएकोमा चालु आर्थिक वर्षबाट अनुदान रकम किसानकै खातामा जम्मा हुने व्यवस्था मिलाइएको हो ।निजगढ नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैया अनुदान प्रदान गर्दैआएको छ ।नयाँ व्यवस्थासँगै निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.ले अनुदान रकमका लागि सहकारीले कृषक सदस्यलाई आफूले सेवा लिइरहेको संकलन केन्द्रमा साउन १३ देखि १७ गतेसम्म बिहान ७बजेदेखि ९ बजेसम्ममा सम्पर्क गर्न आग्रह गरेको छ ।
खाता खोल्नका लागि नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सहकारीले जनाएको छ ।जनकल्याण दुग्ध सहकारीले पनि आफूहरुले किसानहरुलाई बैङ्क खाता खोल्ने सम्बन्धमा जानकारी गराइसकेको कर्मचारी रणबहादुर बोहोराले बताउनुभयो । बागदेव दुग्ध उतपादक सहकारीले दैनिक ९ हजार लिटर र जनकल्याण दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुसंग दैनिक ८ सय लिटर दुध संकलन गर्दैआएको छ ।















