कलैया,इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य हुनुहुन्थ्यो ।

बाराको सिम्रौनगढ नगरपालिका– २ मौवाहीका यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आउनुभएको छ । चुरे संरक्षणको माग गर्दै यादवकै नेतृत्वमा गत वर्ष मधेसबाट एउटा टोली ¥यालीसहित काठमाण्डौं पुगेर माइतिघर मण्डलामा धर्नामा समेत बसेको थियो । अभियानमार्फत यादवले मधेसका खोला र चुरे क्षेत्रमा भइरहेको अबैध उत्खनन र वन फडानीको विरोध गर्दैआउनुभएको छ ।आउँदो साउन १६ गते काठमाण्डौमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा यादवलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply