कलैया,बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले समाचार सम्प्रेषण गरेकै कारण सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बदनाम गर्ने गरी सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ बारा र मधेस प्रदेशले आपत्ति जनाएको छ ।

बाराको कलैयामा मङ्गलवार गाउँपालिका अध्यक्ष यादवले आफू सवार स्कारपियोमा मोटरसाइकल ठोक्किएर पन्चर भएको निहुँमा उक्त मोटरसाइकलका चालकलाई गाली गलौच गर्दै दुव्र्यवहार गरेको घटनाबारेको समाचार सम्प्रेषण भएपछि अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई र सञ्चार क्षेत्रलाई बदनाम गराउने गरी दिएको अभिव्यक्तिप्रति पत्रकार महासङ्घले आपत्ति जनाएको हो ।

समाचारको विषयमा चित्त नबुझाएको भएमा कानुनी उपचार खोज्ने निकायहरू रहँदा पनि गाउँपालिका अध्यक्ष यादवले समाचार सम्प्रेषण गरेका सञ्चारकर्मीमाथि अनेक आरोप लगाउँदै पत्रकार र पत्रकारिता क्षेत्रलाई बदनाम गराउने नियतले अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदी र मधेस प्रदेश महासचिव शैलेन्द्र महतोले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अध्यक्ष यादवले उक्त अभिव्यक्ति फिर्ता लिई माफी नमागेको खण्डमा पत्रकार महासङ्घले सशक्त कदम चाल्ने महासंघ बारा अध्यक्ष सुवेदी र प्रदेश महासचिव महतोले चेतावनी पनि दिएका छन् ।

Leave a Reply