वीरगञ्ज,प्रहरीको खोजीको सूचिमा रहेका पर्सा सखुवा प्रसौनी ५ बलुवाका ७२ वर्षीय प्रेम गिरी पक्राउ परेका छन् । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा उनी प्रहरीको खोजीको सूचिमा थिए ।गिरी १६ वर्ष अघि जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको हत्याको मुख्य आरोपित हुन् । मैनालीको २०६५ असोज २२ गते गोली हानेर हत्या भएको थियो । उक्त हत्यामा गिरीको संलग्नता रहेको प्रहरीको भनाई छ ।

त्यसबाहेक उनीमाथि २०५७ भदौ १२ गते विन्दावासिनी गाउँपालिका ४ का देवेन्द्रप्रसाद यादवको हत्या गरेको आरोप छ । यादवको घरमा डकैती गर्ने क्रममा गोली प्रहार गरेको र उक्त गोली लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गिरी हातहितयार मुद्धामा २०६० सालमा पुनरावेदन अदालतबाट दोषी ठहर भएका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय पर्साले समेत हातहतियार मुद्धामा दोषी करार गरेको थियो । कयौं मुद्धामा दोषी ठहर भएपनि हालसम्म फरार रहदै आएका उनलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।पक्राउ परेका गिरीलाई कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

Leave a Reply