सिमरा,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर समितिले जिल्ला पार्टी इञ्चार्जद्वारा एकलौटी ढंगले थारु मुक्ति मोर्चाको गठन गरेकोभन्दै आपत्ति जनाएको छ ।नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै थारु मुक्ति संगठन गठनजस्तो गम्भीर र सांगठनिक विषयमा पार्टीको सांगठनिक प्रक्रिया र निर्णयबिना गठन गरिनुलाई आपत्तिजनक र अनुशासनहीन कार्य भनेको छ।

विज्ञप्तिमा थारु मुक्ति मोर्चाको जिल्ला अध्यक्ष प्रकाश चौधरीले पार्टी जिल्ला ईँचार्जलाई स्थानीय पार्टीको अन्तरविरोधको विषयमा जानकारी गराउँदा पनि गठन हुनुले पार्टीमा राम्रो सन्देश नगएको बताइएको छ ।नगर कमिटीले उक्त कदम पार्टीको नीति, पद्धति र निर्णयविपरीत भएको भन्दै विरोध जनाउँदै भनेको छ, “यसरी गरिएको कार्यले पार्टी निर्माण होइन, पार्टीलाई कमजोर बनाउने षड्यन्त्र हो।” साथै पार्टीको नाम, झण्डा र संगठनलाई प्रयोग गरेर सामाजिक रुपमा थारु÷थारुबीचको जातीय द्वन्द्व भड्काउने र अराजक गतिविधि सृजना भई पार्टीमा गुट,उपगुट निर्माण गर्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा नगर कमिटी इञ्चार्ज शिला खनाल र नगर अध्यक्ष प्रेम बरालले हस्ताक्षर गरेका छन्। नगर कमिटीले पार्टी विरोधी तत्वहरूबाट सावधान रहन र संगठनविपरीतका गतिविधिमा संलग्न नहुन सम्पूर्ण कार्यकर्ता र नेताहरूलाई आग्रह गर्दै यस्ता कार्यको स्पष्ट रूपमा विरोध गरिने चेतावनी दिएको छ।

 

Leave a Reply