वीरगञ्ज,बारा जिल्लाको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक स्थानमा एक स्थानीय सर्वसाधारणमाथि दुव्र्यवहार र हातपात प्रयास गरेको आरोप लागेको छ ।जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका– ३ गङ्गापुरका विकास साहले अध्यक्ष यादवले आफूलाई कठालो समातेर अपमानजनक व्यवहार गरेको र मानसिक उत्पीडन गरेको आरोप लगाउनुभएको हो ।
पीडित साहका अनुसार, उहाँ व्यक्तिगत कामका लागि कलैया पुगेको र कलैया– गढीमाई सडकखण्डमा बाटो पार गर्नेक्रममा हुनुहुन्थ्यो । सोही समयमा अध्यक्ष यादव चढेको मधेस प्रदेश ०३–००१ च ७७२२ नम्बरको स्कार्पियो गाडीको पछाडिको चक्का आफैँ पन्चर भएको थियो । तर, अध्यक्ष यादवले साहको मोटरसाइकलले चक्का छोएर टायर पन्चर भएको भन्दै हप्काएर दुव्र्यवहार गरेको उहाँको आरोप छ ।
साहले भन्नुभयो, “अध्यक्षज्यूले आफ्नो पदको दम्भ देखाउँदै मलाई धम्काउनुभयो र मेरो मानसिक उत्पीडन गर्नुभयो ।”
पीडित साहले अध्यक्ष यादवले आफूलाई पावरको आडमा थुनाउने धम्की दिएर त्रसित बनाएको बताउनुभएको छ । साथै, स्थानीय ट्राफिक प्रहरीले पनि प्रत्यक्षदर्शीको कुरा नसुनी अध्यक्षको प्रभावमा परेर आफूलाई हप्काएको उहाँको गुनासो छ ।
स्थानीय बासिन्दाहरूले पनि अध्यक्षको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् ।स्थानीय बासिन्दा र पीडितले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।


















