कलैया,संविधानसभा सदस्य तथा जसपाका पूर्वनेता प्रमोदप्रसाद गुप्ता र बारा क्षेत्र नम्बर ३ (२) का मधेस प्रदेशसभाका पूर्वसदस्य पारसप्रसाद साहसहित विभिन्न राजनीतिक दल परित्याग गरेका सयौं नेता तथा कार्यकर्ता सोमवार जनमत पार्र्टीमा प्रवेश गरेका छन ।बाराको कलैयास्थित करण राज पार्टी प्यालेसमा सोमवार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममानवप्रवेशी नेताहरूलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा सहभागी नेताहरूले अब जनमत पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढाउन आफ्नो योगदान रहने बताएका थिए ।
जनमत पार्टीमा प्रवेश गरेका संविधानसभा सदस्य गुप्ता र पूर्वप्रदेशसभा सदस्य साह दुवैजना जसपाबाट निर्वाचित भएका थिए । गुप्ताले संविधान सभामा तथा साह प्रदेशसभामा बाराको प्रतिनिधित्व गर्दै आएका थिए। उनीहरूद्वारा पार्टी परित्यागसँगै बारा क्षेत्र नम्बर ३ मा जसपाको संगठन कमजोर बनेको राजनीतिक विश्लेषकहरू बताउँछन्।कार्यक्रममा जनमत पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले जनमत पार्टी जनताको भावना र परिवर्तनको आकांक्षासँग जोडिएको पार्टी भएकाले अब यो पार्टीलाई अझ बलियो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न पार्टीबाट बारा जिल्लाको स्थानीय तहमा निर्वाचित पूर्व वडाध्यक्ष, स्थानीय नेता तथा युवाहरूले जनमत पार्टीमा प्रवेश गरेका हुन । उनीहरुले अब जनमत पार्टीको नीति, कार्यक्रम र विचारमा एकीकृत भएर आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।संविधान सभा सदस्य गुप्ता र प्रदेश सभा सदस्य गुप्ताको प्रवेशसंगै बारामा जनमत पार्टीको प्रभाव विस्तार भएको छ ।्



















