महोत्तरी,मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बलवा नगरपालिकामा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद उत्पन्न भएको छ ।बलवाकी उपप्रमुख रामदुलारी ठाकुरले आफूमाथि बोत्तल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले आरोप लगाउनुभएको छ भने उपप्रमुख रामदुलारीले अधिकृत प्रमोदले आफूलाई मुक्काले हिर्काउन खोजेको आरोप लगाउनुभएको छ ।अधिकृत प्रमोदकुमारका अनुसार उपप्रमुख रामदुलारीले आफ्नै कार्यकक्षभित्र एक गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा चलिरहेको छलफलका क्रममा आफूमाथि बोत्तलले प्रहार गरेको बताउनुभएको छ । यता, उपप्रमुखले अधिकृत प्रमोदकुमारले आफूलाई मुक्काले हिर्काउन खोजेको बताउनुभएको छ ।बलवा–७ बनौटामा निर्माण भइरहेको सडकको विषयमा दुवैबीच विवाद हुँदा उनीहरुले यस्तो आरोप लगाएको बुझिएको छ । अधिकृत प्रमोदकुमारका अनुसार उहाँले स्थानीयहरुक मागअनुसार सडकको काम रोक लगाएपछि उपप्रमुख रामदुलारीले त्यसलाई इस्यू बनाएर आफूसँग दुव्र्यवहार गरेको बताउनुभयो ।अधिकृतले उपप्रमुखको योजनाअन्तर्गत रहेको सो सडक २५ लाखको लागतमा निर्माण भइरहेको अवस्थामा स्थानीयले ९ फिट मात्र नभई १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित जानकारी दिँदा आफूले काम रोक्न लगाएको बताउनुभयो । उहाँले स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई इस्यु बनाएर उपप्रमुखले आफूलाई दुव्र्यवहार गरेको सुनाउनुभयो ।यता, उपप्रमुख रामदुलारीले आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई ३ पटकसम्म कार्यकक्षमा पठाएँ । तर पनि उहाँ आउनुभएन । मैले पटक पटक फोन गर्दा फोन उठाउनु भएन ।’अगाडि भन्नुभयो, ‘उहाँ नआएपछि म आफैं उहाँको कार्यकक्षको गेटमा पुगेर कृपया यहाँ आउनुस् मलाई तपाईंसँग कुरा गर्नुछ भन्दा उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाहँदिन भनेर मेरो अपमान गर्नुभयो ।’सोही क्रममा सामान्य भनाभन भइरहँदा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमारले नै आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले मुक्का प्रहार गर्नै लाग्दा आफूलाई बचाउन आफूले त्यहाँ नजिकै रहेको पानीको बोतल मात्रै उठाएको बताउनुभयो । तर, आफूले सो बोतल प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार भने नगरेको उहाँको दाबी छ ।

















