निजगढ,निजगढ नगरपालिकाकाले दिपावली र छठ पर्वमा प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न नगरबासीसंग आग्रह गरेको छ ।प्लाष्टिकजन्य फूल र मालाको उत्पादन, बिक्री वितरण र प्रयोगमा नेपाल सरकारले प्रतिबन्ध लगाएको र यसबाट वातावरण प्रदुषण र मानव स्वास्थ्यमासमेत प्रतिकुल असर पार्ने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अजय बर्तौलाले मंगलवार एउटा सूचनामार्फतयसको प्रयोग नगर्न निजगढ नगरबासी सर्वसाधारणसंग आग्रह गर्नुभएको हो । सूचनामा स्थानीय रुपमा उत्पादित सयपत्री र मखमली फूलको प्रयोग गर्न पनि भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले हस्ताक्षर गरेर जारी गरिएको सूचनामा अगाडि भनिएको छ,– ‘प्लाष्टिकजन्य फूल तथा सरसजावटका सामाग्रीको प्रयोगले वातावरणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले निजगढ नगरपालिकाको क्षेत्रमा स्थानीय स्तरमा उत्पादन भएका सयपत्री, मखमली लगायतका फूलहरुको प्रयोग गरी आउँदै गरेको चाड तिहार तथा छठलाई हर्षोल्लासका साथ मनाउन हुन आग्रह गरिन्छ ।’अधिकृत बर्तौलाले नेपाल सरकारले पनि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, बिक्री वितरण र प्रयोगमासमेत रोक लगाउने निर्णय गरेकोले यसको प्रयोग गैरकानुनी कार्य भएको समेत जनाउनुभएको छ ।

‘नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) द्वारा प्रदत्त अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना बमोजिम प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण एवंम भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेकोले नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूलका मालाहरु तथा घर सरसजावटका सामाग्रीहरुको प्रयोग नगर्न÷नगराउन हुन जानकारीको लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ । उहाँले आउदै गरेको दिपावली र छठ पर्व हर्षोल्सासका साथ मनाउन पनि निजगढ नगरबासीसंग आग्रह गर्नुभएको छ ।

Leave a Reply