बसन्त लामा
सिगौल,निजगढ नगरपालिकाको सिंगौलमा धनसार सिँचाई आयोजना संचालनमा आएको छ ।निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ सिंगौलका किसानहरुलाई सिँचाई सुविधा पु¥याउने उद्देश्यले मधेस प्रदेश सरकारको २ करोडको लागतमा निर्माण भएको धनसार सिँचाईको पक्की बाँध र कुलोको केही दिनअघि मात्रै निर्माण कार्य पूरा भएपछि आयोजना संचालनमा आएको हो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले आयोजनाको च्यानलाईज ड्याम र पक्की सिँचाई आयोजनाको उद्धाटन गर्नुभएको थियो ।आयोजनाबाट सिँचाई सुविधा शुरु भएपछि स्थानीय किसान खुसी बनेका छन । सिँचाई आयोजनाको पानी प्रयोग गरेर खेती गर्न पाउँदा सजिलो हुने सिंगौलका किसान रामलाल स्याङ्गतानले बताउनुभयो । धनसार खोलामा व्यवस्थित सिँचाई बाँध र कुलो बनेपछि विशेष गरी धान खेती गर्न सहज भएको उहाँको भनाई छ ।
यसअघि व्यवस्थित सिँचाई कुलो नहुँदा यहाँका किसानले धान रोपाइँ गर्ने समयमा खोलाको बाढीले कच्ची बाँध र कुलो भत्काउने गरेकाले खेती गर्न समस्या बेहोर्दैआएका थिए ।आयोजनाले खोलामा तटबन्धसमेत निर्माण गरेपछि पिपलटारको खेतीयोग्य जमिन कटान रोकिनुको साथै बस्तिमा खोला पस्ने जोखिम पनि न्यून भएको छ । आयोजनाको बाँधले धनसार खोलाको कटान र पहिरोको खतरा पनि बम भएको निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले बताउनुभयो ।
स्थानीय किसानले भोग्दै आएको सिँचाईको असुविधा र बाढी पहिरोको जोखिम कम गर्न वडा अध्यक्ष तिमल्सिना र समाजसेवी ज्ञानु (सुकराम) जिम्बाको पहलमा मधेश प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री सरोजकुमार यादवले तटबन्धसहित सिँचाई आयोजना निर्माणमा सहयोग गर्नुभएको थियो ।स्थानीयको आग्रहपछि पूर्वमुख्यमन्त्री यादवले सिंगौल क्षेत्रको स्थलगत अनुगमन गरेर आयोजनाको लागि बजेट व्यवस्था गर्न सहयोग गर्नुभएको थियो । आयोजना अन्तर्गत पक्की तटबन्द निर्माणको काम भने अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो ।सिँचाई आयोजनाले पक्की कुलो र तटबन्ध निर्माण गरेपछि मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर २ को थाकालचौरमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण झरना अवलोकनको लागि आउनेहरुको लागि पनि सजिलो भएको छ । पर्यटकहरु आयोजनाको ड्याम र पक्की कुलो हुदै धनसार नदी पार गरेर सहज रुपमा झरनासम्म पुग्नसक्ने छन ।