सर्लाही, लालबन्दी — सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक रहेको ‘न्यु माँ राजदेवी खाद्य उद्योग’ परिसरभित्र करेन्ट लागेर ट्रकका एक सहचालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

गुरुवार बिहान करिब ६ः४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना. ६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गुज्रिएको ११ हजार भोल्टको विद्युत् लाइनबाट करेन्ट सरेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवानको उपचारका क्रममा निधन भएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज कुमार राईले पुष्टि गरे।
घटनामा परेर अन्य दुई जना कामदारहरू—२५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि घाइते भएका छन्। उनीहरूलाई तत्कालै इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी हरिवनस्थित नमुना अस्पताल पठाएको थियो। हाल उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटना अनुसन्धानका लागि ट्रकलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलमा पर्याप्त सुरक्षाको व्यवस्था गरिएको छ।
विद्युत् लाइनको नजिक काम गर्दा सतर्कता नअपनाउँदा यस्तो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


















