पुष्पराज खतिवडा
मनहर्वा,प्रदेश नम्बर २ का २५ प्रतिशत सहकारीमा सुशासन नभएको आई.सि.ए.ग्लोवल बोर्ड सदस्य एवं राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ ।
राष्ट्रिय सहकारी बैंकले बाराको सिमरामा मंगलबार आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधनको क्रममा सहकारी क्षेत्र व्यवस्थित र अनुशासित नहुँनुमा यस क्षेत्रमा लागेका अगुवाहरुनै कारक भएको उपाध्यक्ष मल्लको भनाइ थियो ।
अगुवाहरु जिम्मेवार नहुँदा बेलाबेलामा समस्या आउने गरेको भन्दै संविधानसभा सदस्य समेत रहनु भएकी मल्लले सहकारी अभियानलाई जीवन्त बनाउन अगुवाहरु जिम्मेवार बन्नु पर्ने बताउनु भयो । सामुहिक भावना लिएर समान सेवा उपभोग गर्ने उदेश्यले खोलिएका सहकारी संघ÷संस्था राजनीतिक आस्था, जातजाती, धर्म, लिङ्गका आधारमा प्रेरित हुन नहुने उहाँको भनाइ थियो । यस्ता कुरामा सहकारीले भेदभावको व्यवहार गर्न नहुने उहाँको भनाइ थियो । ‘सहकारीमा लागेर राजतीति हैन, सदस्यको हितमा काम गर्नुपर्छ’ मल्लले भन्नुभयो, सहकारीलाई कुनै स्वार्थमा पनि प्रयोग गर्न हुन्न ।’
अन्य देशको तुलनामा सयौं वर्ष पुरानो नेपाली सहकारी आन्दोलन अझै विकासको चरण रहेको उहाँको भनाइ थियो । पछिल्लो समय सहकारी अभियानलाई थप जिम्मेवार बनाउनु पर्ने अवस्था आएको भन्दै उहाँले सहकारी ऐन, नियम र कानुनको परिपालन गर्न पनि सहकारीकर्मीहरुसंग आग्रह गर्नुभयो ।
अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ का सहकारी संस्थाहरुमा विकृति बढी पाइएको उहाँले सुनाउनुभयो । ‘प्रदेशले लामो समयसम्म सहकारी ऐन पारित गर्न सकेको छैन । जस्ले गर्दा धेरै समस्या देखिएका छन्, उहाँले भन्नुभयो, यस प्रदेशमा सहकारी संस्थाको नियमन र सुधारका पक्षमा काम हुन सकेको छैन ।’ यहाँका २५ प्रतिशत सहकारी संस्थामा सुशासन छैन । जसलाई दायरामा ल्याउन सरकारले भुमिका खेल्नु पर्ने हो । तर यहाँको सरकारसँग कानुननै छैन । यो भन्दा विडम्बना अरु के हुनसक्छ ।’ मल्लले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी बैंकलाई आधुनिक सेवाको बलियो माध्यमका रुपमा विकास गर्ने काम भइहेको बताउनुभयो । सहकारी संस्थाहरुमार्फत लाखौं गरिव, विपन्न र पछाडि पारिएका समुदायको हित र क्षमता विकासमा बैंकले भुमिका खेल्दै आएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बारा, पर्सा र रौतहट गरी तीन जिल्लाका ६० जनाभन्दा बढी विषयगत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।