कलैया,आदर्श कोतवाल गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि कुल ४५ करोड ५ लाख ३४ हजार ५४ बराबरको अनुमानित आय–व्यय विवरण मंगलवार सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको बजेट विवरण अनुसार गाउँपालिकाले समावेशी, विकासमुखी तथा सेवा प्रवाहमा केन्द्रित योजनासहित चालु र पुँजीगत खर्च सन्तुलनमा जोड दिएको जनाएको छ ।
संघीय सरकारबाट प्राप्त १७ करोड ६० लाख रुपैयाँको समानीकरण अनुदान सबैभन्दा ठूलो आयश्रोतका रूपमा देखिएको छ । यस्तै ५ करोड ६५ लाख ८२ हजार ५४ रुपैयाँ राजस्व बाँडफाँड तथा १ करोड ९५ लाख ससर्त अनुदान आउने गाउँपालिकाले बताएको छ
त्यस्तै मधेस प्रदेश सरकारबाट ६ करोड ६६ लाख ५० हजार रुपैयाँको समानीकरण अनुदान प्राप्त हुने देखिएको छ । यस अतिरिक्त २ करोड ५० लाख विशेष अनुदान र त्यति नै रकम बराबरको समपुरक अनुदान समेत प्राप्त हुने अनुमान गरिएको छ ।आन्तरिक स्रोततर्फ स्वायत्त साधन कर तथा राजस्व बाँडफाँडबाट ५ करोड ५९ लाख ६६ हजार ५० रुपैयाँ र आन्तरिक राजस्वबाट ४० लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ ।
त्यसैगरी गाउँपालिकाले आगामी वर्षमा चालु खर्चमा रु २४ करोड ७२ लाख ६९ हजार ५४ रुपैयाँ छुट्याएको छ भने पुँजीगत खर्चका लागि रु २० करोड ३२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ ।बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको ठूलो हिस्सा रहने देखिए पनि आन्तरिक आम्दानीतर्फको योगदान पनि सकारात्मक देखिएको छ । बजेट संरचनाबाट सेवा प्रवाह, विकास पूर्वाधार तथा स्थानीय स्रोत परिचालनमा गाउँपालिकाको प्रतिबद्धता झल्किएको छ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको ५९ करोड ३१ लाखको बजेट सार्वजनिक
आर.के. चौधरी
सखुवाप्रर्सौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलवार सम्पन्न १५औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विष्टले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको हो ।प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाका अनुसार बजेटमा सशर्त अनुदानबाट २३ करोड २९ लाख, समपूरक अनुदान ५१ लाख, विशेष अनुदान ७५ लाख, वित्तीय समानीकरण अनुदान ११ करोड ४५ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट १० करोड ८६ लाख ११ हजार ३०३ र आन्तरिक स्रोतबाट ४४ लाख ८५ हजार रुपैयाँ समेटिएको छ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिनुभयो । साथै, महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापन पनि नीति तथा कार्यक्रममा समेटिएको उहाँले स्पष्ट पार्नुभयो ।अध्यक्ष यादवले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तीमा एक उद्योग स्थापना गरी स्थानीय युवा र महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने योजना पनि प्रस्तुत गर्नुभयो ।अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउँसभा अधिवेशनमा उपाध्यक्ष विष्ट, प्रमुख प्रशासकीय अधिकृत कुशवाहा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।

















