सिमरा,जगदम्बा स्टील्सको जोखिमपूर्ण भट्टी संचालनमा रोक लगाउन माग गर्दै दवावमूलक कार्यक्रम संचालन गर्दैआएका जीतपुरसिमरा उपमहानगरपालिका मुख्य ७राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले सोमवार बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतवार जीतपुरसिमराका नगर प्रमुख राजन पौडललाई ज्ञापनपत्र बुझाएका उनीहरुले सोमवार कलैयास्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन ।कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमतका अध्यक्ष मनोहर साहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घना बस्तीको बीचमा मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले संचालन गरेको भट्टी तत्काल रोकिनुपर्ने माग गरिएको छ ।
असार १८ गते राति उद्योगको सिसिएम प्लान्टमा भएको भट्टी विष्फोटपछि त्रसित बनेका स्थानीयको आग्रहमा राजनीतिक दलका प्रतिनिधिहरुले विरोधमा दवावमूलक कार्यक्रम चलाउदैआएका छन ।स्थानीयको स्वास्थ्यमाथि उद्योगले गर्दै आएको ज्यादती तत्काल नियन्त्रण गर्न माग राख्दै प्लान्टमा भएको विष्फोट घटनाको छानविन गर्न समेत ज्ञापनपत्रमामाग गरिएको छ । घटनापछिको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन र स्थानीयको जिउधनको सुरक्षा गर्न पनि पत्रमा आग्रह गरिएको छ ।
पछिल्लो पटक गत असार १८ गते कच्चा पदार्थ पगाल्ने भट्टी विष्फोट हुँदा उद्योग वरपरका घरहरुमा ठूलो कम्पनी भएपछि स्थानीय त्रसित हुदैआएका छन । उद्योगमा यसअघि पनि पटकपटक जनधनको क्षति हुने गरी विष्फोटको घटना हुँदै आएका छन । विष्फोटमा एक जना मजदुर घाइते भएको उद्योगको भनाई छ । तर भट्टी विष्फोटको घटनामा ठूलै क्षति भएको हुनसक्ने स्थानीयको अनुमान छ ।उद्योगले वातावरण समेत प्रदुषित बनाउदैआएको भएपनि प्रदुषण नियन्त्रणमा उद्योग प्रशासन गम्भीर देखिएको छैन । उद्योगले गर्दै आएको प्रदुषण रोक्न जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ ।
उद्योगको जोखिमपूर्ण भट्टी र वातावरण प्रदुषण नियन्त्रण गरी स्थानीयबासीको हितमा काम गर्नगराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको एमाले नगर अध्यक्ष त्रिलोकविक्रम शाहले बताउनुभयो ।उद्योगमा भएको भट्टी विष्फोटको घटनामा बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी र जितेन्द्र सोनलले समेत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टी संचालनमा रोक लगाउन माग गरिसकेका छन् ।
उद्योगले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

















