निजगढ,मोटरसाइकल चोरको खोजतलासमा गएका इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत एक जना प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परेर शनिवार मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका कन्चनपुर भिमदत्त नगरपालिका वडा नं.११ घर भई ईलाका प्रहरी कार्यालय निजगढमा कार्यरत प्रहरी जवान आकाश सुनारको वीरगञ्जस्थित एस एल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।निजगढबाट चोरी भएको भनिएको मोटरसाइकल कोल्हबी नगरपालिकाको काँटगाउँतर्फ लिएको गोप्य सूचनाको आधारमा निजगढबाट खोजतलासको लागि गएका प्रहरी जवान सुनारले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटरसाइकल पिलुवा–कलैया सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित ग्रिनलाइट होटलअगाडि एक्कासी अनियन्त्रित भई बिहान १०ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेका सुनारको प्रादेशिक अस्पताल कलैया सामान्य उपचारपछि थप उपचारको एस एल न्युरो अस्पतालमा लगिएको र उपचारको क्रममा दिउसो १२ः१५ बजेको मृत्यु भएको थियो । प्रहरी जवान सुनार ६ महिनाअघि मात्रै सरुवा भएर इलाका प्रहरी कार्यालय निजगढमा आएका थिए ।

















