पुष्पराज खतिवडा
बारा,मधेस विश्वविद्यालयको सम्बन्धनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५, डुमरवानामा प्रविधिमा आधारित क्याम्पस संचालनमा आउने भएको छ । शनीवार डुमरवाना क्याम्पसको सभाकक्षमा भएको भेलाले हात्तिसार मेमोरियल सामुदायिक क्याम्पस संचालन तदर्थ समिति गठन भएको हो ।पूर्वशिक्षक ईद्रिस मियाँ अंसारीको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा हरि थपलिया चुनिनु भएको छ । यस्तै समितिको सदस्यहरुमा राजकुमारप्रसाद अर्याल, सुदन दास तत्मा, नवराज खड्का, बाबुराम अधिकारी, सीमा ठकुरी हुनुहुन्छ ।
यसैगरी मनोज राय, शंकर यादव, संजय चौधरी, पुष्पराज खतिवडा, राजेन्द्र चौधरी र एकजना पछि मनोनयन गर्ने गरी समितिलाई पूर्णता दिइएको छ । सबै क्षेत्र, वर्गलाई समेट्दै गठन भएको तदर्थ समितिमा पूर्वजनप्रतिनिधि, सामाजिक अगुवा, शैक्षिक व्यक्तित्वसहित पत्रकारको समेत प्रतिनिधित्व समेटिएको डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले बताउनुभयो ।
यस्तै डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिलकुमार मैनालीको संयोजकत्वमा सात सदस्य सल्लाहकार समिति पनि गठन भएको छ । समितिमा पलटप्रसाद चौधरी, रुपलाल चौधरी, यज्ञ तिवारी, राजु अधिकारी, किशोर शर्मा र नारायणी रायमाझी उक्त समतिमा चयन हुनु भएको हो ।यसैगरी संघिय सांसद, प्रदेश सांसद, पूर्वसांसद, मेयर उपमेयर, वडा अध्यक्षहरु, दाता हात्तिसार मेमोरियल सामुदायिक क्याम्पसका संरक्षक रहने गरी क्याम्पसको विधान तदर्थ समितिले बनाउने भनिएको छ ।
प्रस्तावित क्याम्पसमा डिजिटल प्रविधियूक्त अध्यायनमा एग्रो, टुरिजम, ईन्डष्ट्रिज, होटोल तथा हस्पिटल ब्यवस्थापन लगायत स्वरोजगारमुलक शिक्षामा जोड दिइने बताइएको छ । यहाँबाट दिक्षित विद्यार्थीहरुलाई सिधै श्रम बजारमा जोड्ने गरी विद्यार्थीहरुको रोजाइका थप विषय समेत समावेश हुने डुमरवाना क्याम्पस प्रमुख शिवाकोटीले बताउनुभयो ।
सामुदायिक क्याम्पसको पठनपाठन सहितको आवश्यक व्यवस्थापन हाल डुमरवानाबाटै गरिने प्रवन्ध मिलाईएको उहाँले बताउनुभयो ।
कार्यक्रमको पूर्वसांसद रामबाबुप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि यादवले मधेश विश्वविद्यालयले महत्वपुर्ण कार्यक्रम अघि सारेको र डुमरवानालाई शैक्षिक हवका रुपमा स्थापित गर्न यहाँको अगुवाहरुको भुमिका सरहनीय रहेको पनि बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा बढ्दो निराशालाई चिर्ने र यूवालाई प्रविधिमा जोडेर दक्ष, प्राविधिक, शैक्षिक, स्वारोजगारयूक्त जनशक्ति निर्माणमा हात्तिसार मेमोरियल सामुदायिक क्याम्पस सफल हुने बताउनुभयो । यसको सफलाका लागि आफुले सधै सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम डुमरवाना क्याम्पस संचालक समितिका अध्यक्ष अनिलकुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो ।



















