कुनै जामाना थियो, बाराको पूर्वपश्चिम राजमार्गमा पर्ने जंगल क्षेत्रमा चोर र लुटराहरुको राज चल्ने गर्दथ्यो । उनीहरुले जुनसुकै स्थानमा सहज रुपमा नागरिकहरुलाई लुट्न सक्थे र यो क्रममा केहीको ज्यान समेत गएको छ । तर आज समय फेरिएको छ । आज कसैले चाहेको खण्डमा छिनका छिनमा बाराको राजमार्गहरुमा लुट्न सक्ने हिम्मत कसैले गर्न सक्दैनन् ।
यसको मुख्य कारण भनेको सिसी क्यामरा पनि हो तर बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा सिसी क्यामरा भने माल पाएर पनि चाल नपाए जस्तो भएको छ । सिसी क्यामरा भनेको यही अपराध नियन्त्रणका लागि प्रयोगमा ल्याइएको सामग्री हो । तर आज सिमरा उपमहानगरपालिकामा वर्षैदेखि यो नै बिरामी भएको छ । अर्थात बन्द अवस्थामा छ । त्यसैगरी निजगढको राजमार्ग क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामराको अवस्था पनि उस्तै छ । वर्षाका कारण त्यहाँका अधिकांश क्यामराहरुले काम गर्न छोडेका छन । ठूलो खर्च गरेर जडान गरिएको र अपराध नियन्त्रण र निगरानीमा महत्वपूर्ण भूमिका खेल्ने क्यामरा संचालनमा ल्याउने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । नागरिकको सुरक्षाको लागि जडान गरिएका सिसी क्यामराले कसरी सुरक्षा दिने र संचालनमा ल्याउने भन्ने कुरा नै मुख्य हो ।
राज्यका निकायले यस बिषयमा बढी चासो दिन जरुरी छ । उनीहरुले आम नागरिकहरुलाई सृुरक्षा दिने र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिसी टिभीको मर्मत तथा सुरक्षाका लागि तत्काल ध्यान दिन जरुरीछ । तत्काल मर्मत गर्न आवश्यक छ । नत्र फेरिपनि यो क्षेत्रमा अपराध नहोला भन्न सकिन्न ।

















