निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ संचालक समिति र लेखा समितिको चयनको आगामी पुष २७ गते हुन लागेको निर्वाचनमा ३१ जनाले मनोनयन पत्र दाखिला गरेका छन ।
निर्वाचन समितिले उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै संचालक समिति र लेखा समितिमा विभिन्न १८ पदको लागि ३१ जनाको उम्मेदवारी परेको जनाएको छ । निर्वाचन समितिका सदस्य नारायणप्रसाद गौतमका अनुसार अध्यक्ष पदमा थानेश्वर सापकोटा (निजगढ– ५) एकजनाको मात्रै उम्मेदवारी परेको र सापकोटा अध्यक्षमा निर्विरोध चयन हुनुहुने भएको छ । उहाँ सहकारी संस्थाका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।त्यसैगरी उपाध्यक्षमा उदयराज पाण्डे (निजगढ– ६), टुकबहादुर तिमल्सिना (निजगढ– ६) र गोविन्द घिमिरे (निजगढ– ६) सहित ३ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा भने राजु गौतम (निजगढ– ५) र प्रकाश सापकोटा (निजगढ– ६) ले मनोनयन पत्र दाखिला गराएका छन ।त्यसैगरी संस्थाको कोषाध्यक्ष पदमा पनि रामहरी खरेल (निजगढ– ७), राजुकुमार सिग्देल (निजगढ– ६) र लक्ष्मी गौतम (निजगढ– ५) को गरी ३ जनाले उम्मेदवारी दिएका छन । उपसचिव पदमा पनि नेत्रप्रसाद गौतम (निजगढ– ५) र निर्मल बजगाई (निजगढ– ५) को उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य गौतमले जानकारी दिनुभयो ।त्यस्तै सदस्यमा भने भैरवप्रसाद रिमाल, तिलकबहादुर राउत, टिकाबहादुर फुयाल, निलाकुमारी थापा, रमाकुमार दहाल, हेमप्रसाद गौतम, कृष्णप्रसाद तिमल्सिना, उमा अर्याल, देवेन्द्र घिमिरे, पुस्तकप्रसाद चौलागाई, सन्तुबहादुर वाइवा, लिलाहरी चौलागाई, बसन्ता कार्की, रन्जीता अधिकारी, शर्मिला हुमागाई, सुर्यबहादुर खडका, तुलसी राम राउतको मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।लेखा समितिको संयोजकसहित थप २ सदस्यमा पनि निर्विरोध चयन हुनेभएको छ । समितिको संयोजकमा राजन तिमल्सिना (निजगढ– ६) को एकल उम्मेदवारी परेको छ भने सदस्यहरुमा रामप्रसाद हुमागाई (निजगढ– ६) र उमादेवी दहाल (निजगढ– ४) ले मनोनयन गर्नुभएको छ ।निर्वाचन समितिले दाबी विरोधमा छानबिनपछि बुधवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र बिहीवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
२ साताअघि भएको १३औं साधारण सभामा नयाँ संचालक समिति र लेखा समितिको चयनमा सम्मति हुन नसकेपछि मतदान प्रक्रियाबाट छनौट गर्न लागिएको हो ।यता, सत्तारुढ गठबन्धनका ३ घटक दलहरुले भने सहकारी संस्थाको निर्वाचन बहिष्कार गर्ने भएका छन ।नेपाली काग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीले नयाँ संचालक समिति चयनमा आफूहरुले गरेको सहमति प्रयासमा नेकपा एमालेका प्रतिनिधिहरुले चासो नदेखाएपछि निर्वाचन प्रक्रियामा आफूहरु सहभागी नहुने र प्रतिपक्षमा बसेर संस्थाको विकासको लागि रचनात्मक सहयोग गर्ने जनाएका छन ।३ दलले बहिष्कार गरेपछि अब नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र प्रत्यासीबीच निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।



















