निजगढ,निजगढ नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट शनिवार ल्याउने भएको छ । स्थानीय तह संचालन ऐनले सबै पालिकाले असार १० गतेभित्र ल्याइसक्नुपर्ने व्यवस्था गरेअनुसार निजगढले पनि निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।नगरपालिकामा नीति तथा कार्यक्रम र बजेट तयारीको काम अन्तिम चरणमा पुगेको कार्यालयका योजना शाखाका अधिकृत अजय उप्रेतीले जानकारी दिनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा प्राथमिकता दिएर बजेट ल्याउन लागिएको बताउनुभयोे ।निजगढसंगै बारा जिल्लाका अन्य पालिकाहरुले पनि योजना निर्माणका विभिन्न तह पार गरी पालिकाहरु नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन । जिल्लाको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका र प्रसौनी लगायत कतिपय पालिकाले वार्षिक नीति तथा कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन् ।स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार सबै ७ सय ५३ वटै पालिकाले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो गाउँ÷नगर सभामा पेस गर्नुपर्छ ।बजेटमा चालू आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण तथा आउँदो आर्थिक वर्षका योजना तथा कार्यक्रम र आय÷व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ । पालिकाले आफ्नो आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्छ ।सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै धेरैजसो पालिकाको बजेटको आकार घट्ने देखिएको छ । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।



















