कलैया,जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। आइतवार सञ्चालित विशेष खोजी अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, पक्राउ पर्नेहरूमा लागुऔषध, वैदेशिक रोजगार ठगी, बहुविवाह, सरकारी छाप किर्ते, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, कर्तव्य ज्यान, नागरिकतासम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसारपसार र लेनदेन मुद्दाका फरार अभियुक्तहरू छन्।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ का ६० वर्षीय सन्तलाल दास लागुऔषध गाँजा मुद्दामा, सिम्रौनगढ नगरपालिका–६ का ३१ वर्षीय कृष्ण प्रभात कुशवाहा वैदेशिक रोजगार कसुरमा र ५५ वर्षीय माला औसिदिन अंसारी बहुविवाह मुद्दाका रहेका छन्।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ६२ वर्षीय दिनानाथ न्यौपाने र ६२ वर्षीया पदमकुमारी थापा मगर सरकारी छाप किर्तेमा पक्राउ परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१३ का ५५ वर्षीय अजित राय नागरिकता सम्बन्धी कसुरमा तथा महागढीमाई नगरपालिका– ६ का ४२ वर्षीय पुनदेवप्रसाद यादव ज्यान मार्ने उद्योगमा नियन्त्रणमा लिइएका छन्।त्यसैगरी परवानीपुर गाउँपालिका– ५ का ४० वर्षीय बिष्णुप्रसाद राउत कुर्मी बैंकिङ कसुरमा, कलैया उपमहानगरपालिका–१५ का ६० वर्षीय महन्त राउत अहिर कर्तव्य ज्यानमा र कलैया उपमहानगरपालिका–१३ का ६९ वर्षीय मोताहिर मिया दर्जी ९६९० पनि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका–७ का ४५ वर्षीय मोसलिम मियाँ धुनिया र लेनदेन मुद्दामा बारागढी गाउँपालिका–५ का ४६ वर्षीय अनुठा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

















