सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका सामाजिक अगुवा तथा नेकपा एमालेका कार्यकर्ता नारायणदत्त अधिकारीको निधन भएको छ । बसको ठक्करबाट गम्भीर घाईते हुनुभएका करिब ७० वर्षीय अधिकारीको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा निधन भएको हो ।
अधिकारीलाई कलैया– वीरगञ्ज सडकखण्डस्थित एलएस न्यूरो अस्पताल अगाडी एक साताअघि बसले ठक्कर दिएको थियो । सोही अस्पतालमा भर्ना भई उपचार गराईरहेका आफन्त भेटन पुगेका अधिकारीलाई कलैया–वीरगञ्ज रुटमा चल्ने बसले ठक्कर दिएको थियो ।मयुरीबाट ओर्लिएर भाडा तिर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । ठक्करबाट गम्भीर घाईते भएका अधिकारीलाई तत्कालै न्यूरो अस्पताल लगिएको थियो ।अधिकारी डुमरवानाको समाज सुधार कृषि सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

















