सिमरा,उर्जा उत्पादनको क्षेत्रमा काम गर्दै आएको निजी कम्पनी अपी पावरले बारामा सौर्य उर्जाबाट एक मेगावाट बिजुली उत्पादन गरेर विद्युत प्राधिकरणलाई बिक्री गरेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा सौर्य उर्जाको प्लाण्ट राखेर अपीले बिजुली उत्पादन गरेको हो । उत्पादित बिजुलीे नेपाल विद्युत प्राधिरकणको डुमरवानामा रहेको ११ केभिएको प्रसारण लाईनमा शुक्रवारबाट जोडिएको हो ।

अपीले उत्पादन गरेको बिजुली प्रतियुनिट ७ रुपैयाँ ३० पैसाको दरलेप्राधिकरणलाई बिक्री गरेको कम्पनीका कार्यकारी अध्यक्ष सतिश न्यौपानेले बताउनुभयो । आठ करोड रुपैयाँको लगानीमा अपीले सौर्य उर्जा उत्पादन गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर भोलाप्रसाद अधिकारीले बटम थिचेर सोलार प्लान्टबाट उत्पादित विजुली प्राधिकरणको मुख्य ग्रिडमा जोडनुभएको थियो । कम्पनीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाको मौलापुरको जग्गा ३० वर्षको लागि भाडामा लिएर सोलार प्यानलमार्फत बिजुली उत्पादन शुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख अधिकारीले तराईका जिल्लामा विद्युत ट्रिपि¨को समस्या रहेको बेला अहिले थपिएको एक मेगावाट बिजुलीले सो समस्या समाधान गर्न र विद्युत आपुर्तिलाई नियमित बनाउन मद्दत पुग्ने बताउनुभयो ।

एक लाख ७० हजार शेयर सदस्य रहेको अपी पावरले यसअघि रौतहटको चन्द्रनिगाहपुर र धनुषाको ढल्केवरमा समेत सौर्य उर्जाबाट बिजुली उत्पादन गरिसकेको छ ।
सिमरा सेजमा ३० वटा कम्पनीले ७ अर्वको लगानी गर्ने

विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा ३० वटा निजी कम्पनीले ७ अर्वको लगानी गर्ने भएका छन् ।

सेजको ‘ए ब्लक’ मा ३० वटा स्वदेशी निजी कम्पनीले ७ अर्बको लगानी गर्ने भएका हुन् । सिमरा सेजका अनुसार ‘ए ब्लक’को ६० वटा प्लटमा ३० वटा उद्योग आएका छन् । उनीहरुले करिव ७ अर्ब २५ करोड लगानी गर्नेछन । त्यहाँ ४ हजार ४ सयले रोजगारी पाउने सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले बताउनुभयो । राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालन गर्ने गरी सेझको शिलान्यास गर्नुभएको थियो । सेज संचालनमा आएको ५ वर्षपछि अहिले आएर उद्योगीहरु आकर्षित हुन थालेका हुन ।

करिव ८३३ बिगाहा क्षेत्रफलमा रहेको सिमरा सेजमा हाल हर्वल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने र ठुलो संख्यामा गार्मेट उद्योगहरु आएको सेजले जनाएको छ । निजी उद्योगलाई आकर्षण गर्न पछिल्लो समय सेजले जग्गाको भाडा दर ५० प्रतिशतले घटाएर प्रतिमहिना प्रतिवर्ग मिटर १० रुपैयाँ बनाएको छ भने उत्पादनको पहिलो वर्ष मैं ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएर सुरुको २ वर्ष निर्यात गर्न नपर्ने र तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत भारत र चीनसहित तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।

आकर्षक अफर छैन :  व्यवसायी

सिमरा सेजमा कुनै आकर्षक अफर नभएकोले उद्योग आउँछन् भन्नेमा विश्वास नभएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघले अझै पनि जग्गाको भाडादर चर्को भएको, उद्योगको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको, सेजमा सञ्चालन हुने उद्योगहरुको भू–वहाल अवधि बढीमा ३० वर्ष रहने र थप १० वर्ष थप्न सक्ने व्यवस्था अनुसार ४० वर्षपछि उद्योगहरुले बनाएको भौत्तिक संरचना कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा अझै जटिलता रहेकोले उद्योगी आकर्षित हुने शंभावना कम भएको उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताउनुभयो ।

सेजमा आवेदन दिएका कम्पनीहरुले उद्योग सञ्चालन नगर्ने तर जग्गा मात्रै ओगट्ने काम गरेको हुनसक्ने भन्दै वीरगन्ज उद्योग वाणिज्य महासंघले पनि ध्यानाकर्षण भएको जनाएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले निर्यातमूलक मात्रै नभएर आयातलाई प्रतिस्थापन गर्ने खालको उद्योगलाई सेजमा प्रवेश गराउनु पर्ने सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here