नरेश गुप्ता
बरियारपुर,बाराको फेटामा गाउँपालिकामा अध्यक्ष अमिरीलाल साहले विकास निर्माण कार्यमा आफ्ना कार्यकर्तालाई मात्र राखेर उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयले विरोध गरेका छन ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित फेटा बजारमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी फेटा गाउँपालिकामा बढ्दै गएको भ्रष्टचार र अनियमितता बारे स्थानीयले विरोध गरेका हुन ।
फेटा गाउँपालिकाको अध्यक्ष साहले गाउँपालिकाको वडा नम्बर ३ फेटा बजारमा सडक ढलान र नाला निर्माणको लागि आफ्ना नजिकका मानिसहरुलाई मात्रै राखेर गठन गरिएको उभोक्ता समितिमार्फत काम सुरु गरिएपछि नेपाली कांग्रेसबाट फेटा गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रुस्तम अंसारीले विरोध जनाउनुभएको हो । उहाँले खुला रुपमा उपभोक्ता समिति गठन गरी पारदर्शी रुपले काम गर्न अध्यक्ष साहसंग आग्रह गरेको तर अध्यक्षले मनोमानी गरेपछि स्थानीय समाजसेबीहरुले त्यसको विरोध गरेका छन ।
फेटा गाउँपालिकाको बजार क्षेत्रमा निर्माण हुने सडक ढलान र नाला निर्माणको बजेट ८० लाखको रहेको छ । मधेश प्रदेशबाट प्राप्त बजेटमा गाउँपालिका अध्यक्ष साहले आफ्ना नजिकका मानिस राखेर टेन्डर नगरी उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाउन खोजेपछि विरोध जनाउदै स्थानीयहरुले पारदर्शी रुपमा उपभोक्ता समिति चयन गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन ।
फेटा गाउँपालिकाको १ देखि ७ नम्बरसम्मका वडाहरुमा गाउँपालिकास्तरीय योजनामा करोडौंको भ्रष्ट्राचार भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । शिक्षा, स्वास्थ्य, कृषि लगायत विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको र सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
गाउँपालिका अध्यक्ष साहले विकास निर्माण कार्यमा सोझासाझा मानिसहरुलाई उपभोक्ता समितिमार्फत काम गर्न लगाइ अध्यक्षका छोराले चेकबाट रकम भुक्तानी गर्ने गरेका नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका भिखारी कुशवाहाले आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा फेटा गाउँपालिकाका अध्यक्ष साहले गाउँपरिषद समेत बन्द कोठामा गरेर विगत चार वर्षदेखिको आम्दानी र खर्चको पारदर्शिता नगरेको उनीहरुले आरोप लगाएका छन । फेटा गाउँपालिका वडा नम्ब। ३ मा रहेको श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा समेत भ्रष्ट्राचार गरेर गुणस्तरहीन काम भएको र स्थानीयले विरोध गरेपछि भवन पुनः निर्माण गरिएको कुशवाहाले बताउनुभयो ।
त्यस्तै फेटाबजारमा रहेको छठ घाटको पर्खाल निर्माण कार्य पनि गुणस्तरहीन भएकोले पर्खाल चर्किएको स्थानीय सुरेश साह कानुले बताउनुभयो ।
पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी मनोजकुमार साह, रामचन्द्र साह कानु, रुसतम अंसारी, भिखारी कुशवाहा, जनमत पार्टीका नरेश साह, शम्भु साह कलवार, सुरेश साह कानु लगायत स्थानीयबासीहरुको पनि सहभागिता रहेको थियो ।