कलैया,सेवाग्राहीको तीव्र गुनासोपछि मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गर्नुभएको छ ।कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको ढिलासुस्ती र गैरजिम्मेवार कार्यशैलीका कारण सेवाग्राहीको गुनासो बढ्न थालेपछि मन्त्री रायले कार्यालयमा सोमवार अनुगमन गर्नुभएको हो ।
मन्त्री रायले कार्यालयमा पुगेर कर्मचारीहरुको कार्यसम्पादन र सेवाको अवस्था बारेमा कार्यालय प्रमुख अरविन्द दाससंग जानकारी लिनुभएको थियो । मन्त्री रायले समयमा कार्यालयमा उपस्थित नहुने र अनावश्यक झमेला सृजना गरेर सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि कारबाही गर्नेसम्मको चेतावनी समेत दिनुभएको छ ।
कलैयायातायात कार्यालयको सेवाप्रति सेवाग्राहीले लामो समयदेखि गुनासो गर्दैआएका छन । सेवाग्राहीहरूले कार्यालयबाट हुने सेवा प्रवाहमा भोग्नुपरेको समस्याको विषयमा गुनासो गर्दै आएका हुन । कार्यालयका कर्मचारीहरुले सेवा प्रदान गर्ने क्रममा अनियमितता र ढिलासुस्ती गर्ने गरेको र कार्यालय प्रमुख तथा कर्मचारीले सेवाग्राहीहरुको गुनासोप्रति चासो नदेखाएको गुनासो छ ।अनुगमनको क्रममा कार्यालय प्रमुख अरविन्द दासले कार्मचारीहरुको कार्यसम्पादन र सेवाप्रवाहको विषयमा मन्त्री रायलाईजानकारी गराउनुभएको थियो । त्यसक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, नेपाली कांग्रेसका युवा नेता राजेश रौनियारलगायत उपस्थित थिए ।मन्त्री रायको अनुगमन आकस्मिक र छड्के भनिएपनि खाँदा र मालाको व्यवस्थाले पूर्वतयारी देखिएको थियो । अनुगमनपछि सेवा प्रवाहमा सुधार आउने अपेक्षा आफूहरुको राखेको सेवाग्राहीको भनाई छ ।