निजगढ,निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार उत्तर–प्रसूति घरभेट सेवा (पिएनसी) कार्यक्रम अन्तर्गत योजना तर्जुमा तथा वार्षिक समीक्षा गोष्ठी आयोजना गरेको छ ।आर्थिक वर्ष २०८१-०८२ को योजना निर्माण र अघिल्लो वर्षको समीक्षाका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाको अध्यक्षतामा भएको सो कार्यक्रमकी प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले उत्तर–प्रसूति सेवाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक मणिश्वर घिमिरेले तथ्याङकको विश्लेषण तथा पिएनसी सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । स्वास्थ्य शाखाकी नर्सिङ फोकल पर्सन रामप्यारी तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीमा नगर क्षेत्रका स्वास्थ्य संस्था प्रमुखहरू, उत्तर–प्रसूति पिएनसी गृह–भ्रमणमा संलग्न नर्सिङ कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत उत्तर–प्रसूति सेवाको प्रभावकारिता, मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उपाय र सामुदायिक स्तरमा सेवा विस्तारका सम्भावनाहरू बारे छलफल गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूले आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply