पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को डकाहमा सोमवारबाट सुरु भएको प्रथम वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उद्धाटन खेलमा आयोजक मित्र युवा क्लबले कलैया फुटबल क्लब कलैयालाई ८÷० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।आयोजकका लागि कृपाकान्त चौधरी एक्लैले ६ गोल गरेका थिए । यस्तै अन्जन बछार र अभिस्कार चौधरीले आयोजकका लागि समान एक-एक गोल गरे ।खेलको पहिलो हाफको ९औं मिनेटमा अविस्कारको पासमा कृपाले गोल गरेर आयोजक टोलीलाई अग्रता दिएका थिए । कृपाले नै १६औं मिनेटमा गोल थपेर अग्रता दोब्बर पारे भने खेलको २०औं मिनेटमा नै उनले पहिलो ह्याट्रिक पुरा गरेका थिए ।दोस्रो हाफको छैठौं, तेह्रौं र २०औं मिनेटमा पुन गोल गर्दै कृपाकान्त चौधरीले डबल ह्याट्रिक गर्दै आयोजकलाई सानदार जित दिलाएका थिए ।यता कलैया फुटबलका खेलाडीहरु आयोजक क्लबका खेलाडी सामुन्य निरिह देखिएका थिए । एकाद् पटक पाएको अवसरलाई समेत सदुपयोग गर्न नसक्दा फराकिलो अन्तरले हार बेहोर्दै कलैया प्रतियोगिताबाट बाहिरिएको छ ।मंगलवारको खेल मौवादेवी युवा क्लब बडहर्वा र फ्रन्स युवा क्लब बकुलियाबीच दिउँसो २ बजेबाट हुने आयोजकले जनाएको छ ।यसअघि प्रतियोगिताको पूर्वमन्त्री एवंम संघीय सांसद ज्वालाकुमारी साहले उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि समेत रहनुभएकी पूर्वमन्त्री साहले खेलकुदको विकास अपरिहार्य रहेको बताउनुभयो । राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनु पर्ने धारण राख्दै उहाँले ग्रामीण क्षेत्रमा हुने प्रतियोगितामा सानो सरकारी सहयोगले पनि ठुलो उपलब्ध दिनसक्ने बताउनुभयो ।यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले ग्रामीण क्षेत्रमा रहेका खेल मैदानको विकास र संरक्षमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । प्रचलित कानुन र स्थानीय सरकारको अधिकारको दायरामा रहेर ग्रामीण क्षेत्रमा रहेका खेल मैदान निर्माण र सुधारमा सहयोग गर्ने उहाँको भनाई थियो ।प्रतियोगिता उद्धाटन कार्यक्रममा बारा क्षेत्र नम्बर ४ (१) का मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, १८ का वडा अध्यक्ष चुतरवाबु वाग्ले, वडा नम्बर १६ का पूर्ववडा अध्यक्ष केदारनाथ बजगाँई, डुमरवाना बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष अनिलकुमार मैनाली, सशस्त्र प्रहरी बल पिलुवाका प्रहरी निरीक्षक उत्तर वाईवा, पत्रकार गणेशराज रिजाल लगायतको उपस्थिति थियो ।