कलैया,बाराको कलैया उपमहानगरपालिका– १४ बघवनमा केटाकेटीको सामान्य विषयलाई लिएर एक ५० वर्षीय पुरुषको ज्यान गएको छ । स्थानीय ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ ।प्रहरीका अनुसार जेठ २९ गते साँझ केटाकेटीको विवादलाई लिएर उमेश जयसवालसहित उनका परिवारका सदस्यले कुर्मीलाई कुटपिट गरेका थिए । जयसवाल परिवारले कुर्मीलाई कलैया– १४ स्थित उमेश कलवारको राइस मिलबाट समातेर निर्घात कुटपिट गरेका हुन । गम्भीर घाइते कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पु¥याइएको थियो । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।घटनाको भोलिपल्ट मृतकका परिवारजनले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीमा उमेश जयसवाल, उनकी पत्नी रञ्जु जयसवाल, छोराहरू अमित, सुमित र सुजित जयसवाल तथा उमेशका मामाका छोरा दिगम्बर जयसवाललाई प्रतिवादी बनाइएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले हाल दिगम्बर जयसवाललाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले घटनापछि घर छाडी फरार रहेका अन्य पाँच जनाको खोजी कार्य तीव्र रूपमा भइरहेको पनि बताउनुभएको छ ।


















