निजगढ,नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले पदबाट बर्खास्त गरेपनि जनताले भने थप माया गरेको बताउनुभएको छ ।सर्लाहीमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा सहभागी भएर काठमाण्डौं फर्किने क्रममा निजगढ नगरपालिकाका स्थानीयले पनि बिहीवार आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै घिसिङ्गले सो कुरा बताउनुभएको हो । प्राधिकरण र देशकै लागि काम गर्दागर्दै आफ्नो कार्यकाल सकिन ४ महीनामात्रै बाँकी रहँदा सरकारले अन्यायपूर्वक बर्खास्त गरेपछि जनताको माया र समर्थन बढेको उहाँले बताउनुभयो ।
‘मलाई कारबाही गरेर हटाएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखियो र सडकमा समेत प्रर्दशन भए, उहाँले भन्नुभयो, त्यतिबेला संसदमा पनि आवाज उठ्यो, अहिले पनि देशभरि नै अभिनन्दन र स्वागत भइरहेको छ ।’ जनताले माया गरेर नै आफ्नो पक्षमा बोलेकोभन्दै यसको लागि जनताप्रति आफू आभारी रहेको पनि बताउनुभयो । ‘जनताको समर्थनप्रति सधै आभारी हुने छु, उहाँले भन्नुभयो, यसबाट सधै जनताको सेवामा लाग्ने प्रेरणा जागेको छ ।’उहाँले उद्योगहरुले प्रयोग गरेको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम उठाउन खोज्दा सरकारले नै अवरोध सृजना गरेको पनि बताउनुभयो ।
इमान्दारितापूर्वक काम गरेकोले नेपालको उर्जा क्षेत्रले ठूलो फड्को मारेको पनि घिसिङ्गले बताउनुभयो । उहाँले घाटामा रहेको प्रधिकरणलाई नाफामा ल्याएको र लामो समयदेखि जारी लोडसेडिङ्गको मारमा परेका उपभोक्ताहरुलाई लोडसेडिङ्गबाट मुक्त बनाएको पनि बताउनुभयो । उहाँले भारत र बंगलादेशमा पनि विद्युत निर्यातको सुरुवात गरेकोभन्दै यसबाट देशलाई बार्षिक झण्डै आम्दानी भएको सुनाउनुभएको थियो । ‘आयातमात्रै हुने गरेको अवस्थामा विद्युत बिक्री गर्न थालिएको छ, उहाँले भन्नुभयो, गत सालमात्रै नेपालबाट करिव १७ अरब बराबारको विद्युत निर्यात भएको छ ।’
उहाँले ५० प्रतिशत मात्रै विद्युतीकरण भएको अवस्थामा आफ्नो कार्यकालमा देशमा झण्डै सत प्रतिशत जनतामा विद्युतको पहँच पु¥याएको पनि उहाँले दाबी गर्नुभयो ।
घिसिङ्गले निजगढ क्षेत्रको विद्युत आफूर्तिमा सुधार गर्न सिंगौल क्षेत्रको लाइनमा कन्डक्टर जडान र पिलुवा सब स्टेशनबाट भूमिगत तार प्रणालीबाट विद्युत आपूर्तिको व्यवस्था मिलाएको पनि बताउनुभयो । उहाँले निजगढ पूर्वको जंगलमा ४ सय केभि प्रशारण लाइनको स्टेशन निर्माण सुरु हुने चरणमा रहेको र यो स्टेशन निर्माण भएपनि निजगढ र वीरगञ्ज क्षेत्रमा हाल देखिएको विद्युत आफूर्तिको समस्या हल हुने पनि बताउनुभयो ।
कार्यक्रममा घिसिङ्गलाई प्रदान गरिएको अभिनन्दन पत्र कुमार मोक्तानले पढेर सुनाउनुभएको थियो ।
निजगढ ८ स्थित होटल तारा इनको सभा हलमा भएको सो कार्यक्रममा मधेस प्रेशस सदस्य मिना लामा, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव युवराज लामालगायत उपस्थित सर्वसाधारणले घिसिङ्गलाई खादा र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
कुमार मोक्तानको अध्यक्षतामा भएको सो कार्यक्रममा रवि दङ्गालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जनवादी गायक प्रतिक भ्लोनले गर्नुभएको थियो ।निवर्तमान कार्यकारी निर्देशक घिसिङको बुधवार जीतपुरसिमरा उपमहानगरपालिका १६ को टाँगियाबस्तिमा पनि नागरिक अभिनन्दन गरिएको थियो ।